Pura Samachar

इराकमाथि सनसनी जित निकाल्दै जोर्डन क्वाटरफाइनलमा

प्रकाशित: January 29, 2024
पूरा समाचार

इराकमाथि सनसनी जित निकाल्दै जोर्डन क्वाटरफाइनलमा

एजेन्सी । कतारमा जारी एएफसी एसियन कपअन्तर्गत प्रि–क्वाटरफाइनल खेलमा इराकमाथि सनसनी जित निकाल्दै जोर्डन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमवार साँझ भएको अन्तिम १६ अन्तर्गत तेस्रो खेलमा इराकमाथि सनसनी ३–२ को जित निकाल्दै जोर्डन क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खालिफा इन्टरन्यास्नल स्टेडियममा भएको खेलमा जोर्डनको जितमा याजान अल नाइमत, याजान अल अरब र निजार अल राश्दानले गोल गरे ।

यता, पराजित टोलीका लागि साउद नातिक र अ‍ैमेन हुसेनले गोल गरे ।

रोमाञ्चक खेलको पहिलो हाफको अन्त्यतिर थपिएको इन्जुरी समयको पहिलो मिनेटमा याजान अल नाइमतले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ६८ औं मिनेटमा अली जसिमको पासमा साउद नातिकले इराकका लागि गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।

प्रतिस्पर्धात्मक खेलको ७६ औं मिनेटमा अ‍ैमेन हुसेनले गोल गर्दै इराकलाई २–१ ले अघि बढाए ।

तर, नाटकिय रुपमा अ‍ैमेन हुसेनलाई रेफ्रीले गलत सेलिब्रेसन गरेको भन्दै दोहोरो पँहेलो कार्ड देखाउँदा इराक १० खेलाडीमा समेतियो ।

त्यसपछि खेलको अन्त्यतिर इन्जुरी समयको पाँचौं मिनेटमा जोर्डनका लागि याजान अल अरबले गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।

त्यसको दुई मिनेट पछि नै निजार अल राश्दानले सनसनी गोल गर्दा जोर्डन ३–२ ले विजयी भयो ।

पराजयसंगै इराक भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया