काठमाडौं, १७ माघ । थ्रीस्टार क्लब पोखरामा जारी २३औं आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई १-० गोलअन्तरले हराउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो ।
थ्रीस्टारको जीतमा वैकल्पिक खेलाडी दिपेश घलेले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । ७८औं मिनेटमा दीपेश आले मगरकाे पासमा घलेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यही गोल थ्रीस्टारले छैटौं उपाधि नजिक पुर्याउन पर्याप्त रह्यो ।
त्यसअघि पहिलो हाफमा दुवै टोलीबाट थुप्रै प्रयासहरु भएपनि गोल भने भएको थिएन । २५औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले गरेको प्रहार थ्रीस्टारका गोलरक्षक अभिषेक बरालले बचाए । ३४औं मिनेटमा दीपेश आले मगरकाे क्रसमा आशिष चापागाईंले अवसर सदुपयाेग गर्न सकेनन् । बल पाेस्ट नजिकैबाट बाहिरियाे ।
३६औं मिनेटमा जावलाखेलका हिसुब थपलियाकाे क्रसमा सुनिल खड्काले बललाई पाेस्टकाे दिशा दिएको भएपनि प्रहार एकदमै फितलाे रहँदा विपक्षी गाेलरक्षकले सजिलै बचाए । पहिलो हाफको इन्जुरी समयमा थ्रीस्टारका आदित्य शाक्यले प्रहार गरेको फ्रिकिक क्लियर भएसँगै पहिलो हाफ गोलरहित बराबरिमा सकिएको थियो ।
थ्रीस्टारले अब उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्ने छ । भोलि दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र त्रिभुवन आर्मी बीच खेल हुने छ ।
प्रतिक्रिया