Pura Samachar

नेपाल भारतसँग १३२ रनले पराजित

प्रकाशित: February 2, 2024
पूरा समाचार

नेपाल भारतसँग १३२ रनले पराजित

काठमाडौं, १९ माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप अन्तर्गतको सुपर सिक्सको दोस्रो खेलमा नेपाल भारतसँग १३२ रनले पराजित भएको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १६५ मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए । त्यस्तै अर्जुन कुमालले २६ रन बनाउँदा दुर्गेश गुप्ता २९ रनमा अविजित रहे भने दीपक बोहराले २२ रन बनाए । ६ जना ब्याटरले दोहोरो अंकमा रन बनाएनन् जसमध्ये दुईजनाले खाता नै खोल्न सकेका थिएनन् ।

भारतका लागि सउमी पान्डेले १० ओभरमा २९ रन खर्चेर ४ विकेट हात पारे । अर्शिन कुलकर्नीले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए । राज लिम्बानी, आराध्या शुक्ला र मुरुगन अभिषेकले १ १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो । भारतका लागि सचिन दास र कप्तान उदय सहारनले शतक प्रहार गरे । सचिनले ११६ रन बनाउँदा उदयले १०० रन बनाए । यी दुई मिलेर चौथो विकेटका लागि २१५ रनको साझेदारी गरेका थिए ।

नेपालका गुल्शन झाले १० ओभरमा ५६ रन दिएर ३ विकेट लिए भने आकाश चन्दले ९ ओभरमा ६५ रन दिएर १ विकेट लिएका थिए । नेपाल यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको थियो । यस विश्‍वकपमा नेपालले ५ खेल खेल्दा एक जीत निकाल्यो भने चारमा हार व्यहोर्‍यो ।

प्रतिक्रिया