एजेन्सी । आयोजक राष्ट्र आइभरी कोस्ट र नाइजेरिया अफ्रिकी फुटबलको शीर्ष प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेका छन् ।
विहिवार राति भएको सेमिफाइनल खेलहरुमा आयोजक राष्ट्र समेत रहेको आइभरी कोस्टले डिआर कंगोलाई १–० ले र नाइजेरियाले दक्षिण अफ्रिकालाई ट्राइब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
स्टेड ओलम्पिक अलास्सेन ओटारा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली आइभरी कोस्टको जितमा सेबास्टियन हेलरले निर्णायक गोल गरे ।
हेलरले दोस्रो हाफको ६५ औं मिनेटमा म्याक्स ग्राडेलको पासमा गोल गरे ।
यता, स्टेड डि बौवाके रंगशालामा भएको पहिलो सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा टुंगियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६७ औं मिनेटमा विलियम ट्रोस्ट इकोङले पेनाल्टीमार्फत् गोल गर्दै नाइजेरियालाई १–० ले अघि बढाए ।
तर, खेलको अन्तिम केहि समय सम्हालिन नसक्दा नाइजेरियाले गोल बेहोर्यो ।
खेलको ९० औं मिनेटमा दक्षिण अफ्रिकाका तेबोहो माकोइनाले पेनाल्टीबाट गोल फर्काउँदा खेल १–१ को बराबरीमा सकियो ।
त्यसपछि खेल अतिरिक्त ३० मिनेट लम्बियो ।
त्यसमा पनि निर्णायक गोल ननिस्केपछि खेल ट्राइब्रेकरमा गयो ।
पेनाल्टी सुटआउटमा नाइजेरियाका लागि टेरेम मोफी, केन्नेथ ओमेरौ, विलियम ट्रोस्ट इकोङ र केलेची इह्यान्चोले गोल गर्दा ओला अैनाको प्रहार भने चुक्न पुग्यो ।
यता, दक्षिण अफ्रिकाका लागि मिहलाली मायाम्बेला र मोथोबी एमभालाले गोल गर्दा तेबोहो मोकोइना र इभिडेन्स माकगोपाको प्रहार खेर गयो ।
अब, दक्षिण अफ्रिकाले डिआर कंगोसंग प्रतियोगिताको तेस्रो स्थानका लागि आईतवार राति प्रतिस्पर्धा गर्नेछ भने नाइजेरिया र आइभरी कोस्ट सोमवार राति अफ्रिकी शीर्ष प्रतियोगिताको उपाधिका लागि आमनेसामने हुनेछन् ।
प्रतिक्रिया