हेटौडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी छैठौँ संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुदैछ ।
प्रतियोगिताको उपाधिका लागि काठमाडौंको न्युरोड टिम (एनआरटी) र सशस्त्र प्रहरी बल (एपीएफ)बीच प्रतिस्पर्धा हुने भएको हो ।
बुधबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा धनकुटाको राजारानी क्लबलाई टाइब्रेकरमा हराउँदै एनआरटी फाइनलमा प्रवेश गरेको थियो । यस्तै, बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीको बागमती क्लबलाई ४–० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको थियो ।
शुक्रबार जिल्ला फुटबल संघले पत्रकार सम्मेलनको आयोजना गर्दै फाइनलमा प्रवेश गर्ने दुबै टिमबारे जानकारी गराएको छ ।
पत्रकार सम्मेलनलाई एनआरटीका टिम कोच जीवन सिंहले निकै प्रतिस्पर्धात्मक अवस्थामा पनि जित निकालेको खेलाडीहरुले राम्रो प्रदर्शनी गर्ने अपेक्षा गरे ।
पहिलो खेलबाटै खेलाडीहरुले राम्रो प्रतिक्रिया दिँदै आइरहेकाले फाइनमा पनि खेलाडीहरु परिवर्तन नगर्ने टिम कोच सिंहले बताए ।
सेमिफाइन खेलमा भएको रोमाञ्चक प्रतिस्पर्धाबाट नयाँ अनुभव बटुलेको सिंहले बताए । एपीएफको टिमले निकै कठिन अवस्थामा पनि उत्कृष्ट प्रदर्शनी गर्दै फाइनल यात्रा पूरा गरेकाले प्रतिस्पर्धात्मक ढंगबाट प्रतियोगिता सञ्चालन हुने सिंहको अपेक्षा छ ।
यस्तै, एपीएफका टिमकोच सुमन श्रेष्ठले छोटो समयमा प्रतियोगितामा सहभागी भएर फाइनमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्त गरे । प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीहरुलाई राम्ररी प्रशिक्षण दिन नपाएको उनले बताए ।
सेमिफाइनल चरणको खेलमा १९ औँ पेनाल्टी प्रहार गर्दै फाइनलसम्म आइपुगेको एनआरटीको टिमले पनि उत्कृष्ट प्रदर्शनी गर्ने उनको अपेक्षा छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३ सय ५० सीसीको बुलेट बाइक प्राप्त गर्नेछन् ।
यस्तै, विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया