हेटौडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा मछिन्द्रले जावलाखेल युथ क्लबलाई हराएको हो ।
निर्धारित समयभित्र दुबै टिमको तर्फबाट गोल नभएपछि खेलको निर्णय टाईब्रेकरबाट निकालिएको थियो । जसमा मछिन्द्रले ३-१ ले विजयी बन्यो ।
टाईब्रेकरमा जावलाखेलका छिरिङ लामा मात्र गोल गर्न सफल भए । अशोक खवास, अनिल महर्जन र सुनिल खडका पेनाल्टीमा चुकेका थिए ।
मछिन्द्र क्लबका बिशाल तामाङ, अभिषेक गुरुङ र क्रिस्टोफर चिजोबाले गोल गरे । बिमल घर्ती मगर पेनाल्टीमा असफल भए ।
जावलाखेल बागमती गोल्डकपको तेस्रो संस्करणको बिजेता हो भने मछिन्द्र दोस्रो सस्करणको उपविजेता समेत हो । खेलको म्यान अफ द म्याच मछिन्द्र क्लबका प्रदिप भण्डारी घोषित भए ।
मछिन्द्रले फाइनल प्रवेशका लागि न्यूरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया