Pura Samachar

छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र क्लब फाइनल प्रवेश

प्रकाशित: February 19, 2024
पूरा समाचार

छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र क्लब फाइनल प्रवेश

हेटौडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र क्लब फाइनल प्रवेश गरेको छ ।

सोमबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम एनआरटीलाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो ।

मछिन्द्रको जीतमा हिसुव थपलिया र विदेशी खेलाडी स्टेफेन समीरले दुई–दुई तथा विमल घर्ती मगरले एक गोल गरे ।

खेलको नवौं मिनेटमा थपलियाकोे गोलमार्फत सुरुवाती अग्रता बनाएको मछिन्द्रका लागि स्टेफेनले १३ औं मिनेटमा र ४६ औँ मिनेटमा गोल गरेका थिए । खेलको दोस्रो हाफको १४ औं मिनेटमा थपलियाले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै घर्तीमगरले ९१ औं मिनेटमा मछिन्द्रका लागि पाँचौं गोल गरेका थिए।

एनआरटीका लागि खेलको दोस्रो हाफको १५ औं मिनेटमा विदेशी खेलाडी सेवेले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच मछिन्द्रका थपलिया घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

फाइनल प्रवेश गरेको मछिन्द्र अब उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्बल र सशस्त्र प्रहरी बल एपीएफबीचको विजेतासँग बिहिबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया