Pura Samachar

नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज क्यानडाले जित्यो

प्रकाशित: February 22, 2024
पूरा समाचार

नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज क्यानडाले जित्यो

काठमाडौं । नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज क्यानडाले जितेको छ ।

बिहीबार मुलपानी मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा नेपालको ‘ए’ टिमलाई हराउँदै क्यानडाले सिरिज २–१ ले जितेको हो नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको सामान्य लक्ष्य क्यानडाले ३८ दशमलव ४ ओभरमा मात्र ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

निकोलस किर्तनले अविजित ५८ रन बनाएको इनिङ्समा ओपनर आरोन जोनसनले ४२ रनको योगदान गरे । नवनीत धालिवालले ३८ रनको योगदान गरे ।

नेपालका साहब आलमले ४ तथा शेर मल्ल र बासिर अहमदले समान एक एक विकेट हात पारे ।

सुरुवातमा ब्याटिङ गरेको नेपाल ४७ ओभरमा अलआउट हुँदै १ सय ८१ रनमा समेटिएको थियो । आशुतोष घिरैयाले २८ रन बनाएको इनिङ्समा अर्जुन कुमालले २७ रनको योगदान दिएका थिए ।

बासिर अहमदले २५ रन बनाउँदा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० र रासिद खान र प्रतिश जिसीले समान १९ रनको योगदान गरे ।

क्यानडाका दिलोन हेइलिगर र हर्ष ठाकरले समान दुई दुई विकेट लिएका थिए ।

नेपालसँग तीन म्याचको एकदिवसीय खेल्न क्यानडा नेपाल आएको थियो । नेपालको राष्ट्रिय टिमसँग सिरिज क्लिनस्विप गरेको क्यानडाले युवा खेलाडीले भरिएको नेपालको युवा टिमलाई भने हराएको छ ।

नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक नेपाल ए टिम निर्माण गरेको हो । राष्ट्रिय टिमलाई ब्याकअप हुने गरि क्यानले ए टिम तयार गरेको हो । युवा खेलाडीले भरिएको ए टिमलाई एक्सपोजर दिन क्यानडासँगको सिरिज आयोजना गरिएको हो ।

प्रतिक्रिया