Pura Samachar

नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब माथि टाईब्रेकरमा जित निकाल्दै केपी ओली कपको दोस्रो चरण प्रवेश

प्रकाशित: February 25, 2024
पूरा समाचार

नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब माथि टाईब्रेकरमा जित निकाल्दै केपी ओली कपको दोस्रो चरण प्रवेश

काठमाडौं युवा गोलकिपर अमित टमाटा नायक बनेपछि नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब माथि टाईब्रेकरमा जित निकाल्दै केपी ओली कपको दोस्रो चरण प्रवेश गरेको छ । आर्मीमाथि टाइब्रेकरमा ४-३ को जित निकाल्दै पुलिस क्वाटफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट गोलरहित बराबरीतर्फ लम्किएपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले सत्रुघन चौधरीको स्थानमा युवा गोलकिपर अमित टमाटालाई मैदान प्रवेश गराएका थिए ।

टाइब्रेकरमा अमितले भूपेन्द्र रायमाझी र नवयुग श्रेष्ठको पेनाल्टी बचाउन सफल भए । भरत खवास, फत्तेमान घले र कमल बहादुर थापाले भने आफ्नो पेनाल्टीमा गोल गरेका थिए ।

पुलिसका रामचन्द्र वजीले आफ्नो पेनाल्टी क्रसबारमा प्रहार गरेका थिए भने उज्वल राई, हेमन्त श्रेष्ठ, प्रताप गुरुङले र आशिष राईले गोल गरे ।

त्यसअघि निर्धारित समयमा कुनै गोल हुन सकेको थिएन । तेस्रो मिनेटमा पुलिसका उज्वल राईको क्रसमा दिप थापाले राम्रो अवसर गुमाए । २०औं मिनेटमा पुलिसका आशिष राईले बक्स भित्रबाट मौकाको सदुपयोग गर्न सकेनन् । पुलिसकै प्रविन थापाले ४४औं मिनेटमा पोस्टमा प्रहार गरे ।

७५औं मिनेटमा मान बहादुर परियारले हेडर पोस्टतर्फ प्रहार गर्न सकेनन् । इन्ज्युरी समयमा प्रताप गुरुङले फ्रिकिक प्रहार क्रसबारमा प्रहार गरेपछि पुलिस निर्धारित समयमा जित हार पार्न सकेन ।

पुलिसले अब सेमिफाइनलमा प्रवेश गर्नका लागि मछिन्द्र एफसी विरुद्ध खेल्नेछ ।

प्रतियोगितामा भोलि हुने खेलमा दुई भारतीय टोली दिल्ली एफसी र मानेभञ्ज्याङ एफसी खेल्ने छन् ।

प्रतियोगिताका सेमिफाइनल अगाडिका खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने छन् । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगिताको फाल्गुन १९ का दिन समापन हुने छ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

प्रतिक्रिया