काठमाडौं । साउदी अरबका राजकुमार (क्राउन प्रिन्स) मोहम्मद बिन–सलमानले कोरोना भाइरसविरुद्धको खोप लगाएको तस्बिर र भिडियो सार्वजनिक भएपछि केही घण्टाको अवधिमै खोपका लागि नाम दर्ता गर्नेको संख्या पाँच गुणाले वृद्धि भएको छ ।
स्वास्थ्य मन्त्री डा. तौफिक अल–रबिआले क्राउन प्रिन्स मोहम्मद बिन–सलमानले खोप लगाएको तस्बिर र भिडियो सार्वजनिक भएको केही घण्टाको अवधिमा कोभिड भ्याक्सिनका नाम दर्ता गर्नेको संख्या पाँच गुणा वृद्धि भएको जनाएका छन् ।
उनले ट्विट गर्दै भनेका छन्, “क्राउन प्रिन्सले कोभिड भ्याक्सिनको पहिलो डोज लगाएको खबर सार्वजनिक भएसँगै भ्याक्सिन लगाउनका लागि रजिस्ट्रेसन दर पाँच गुणा बढेको छ । यस्तो केही घण्टामै भयो । भ्याक्सिन लगाउनेको संख्या पनि तीन गुणा भएको छ । हामी क्राउन प्रिन्सको यो प्रभावकारी पहलका लागि आभारी छौं ।”
साउदी अरबमा राष्ट्रिय स्तरमा खोप योजना जारी भएपछि गत बिहीबारसम्म पाँच लाख मानिसहरुले भ्याक्सिनका लागि नाम दर्ता गराएको बीबीसीले जनाएको छ । साउदी अरबमा अहिलेसम्म १० हजार मानिसहरुलाई कोभिड भ्याक्सिन लगाइएको बताइएको छ ।
साउदी अरबमा तीन लाख ६२ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये तीन लाख ५३ हजार चार जना संक्रमणमुक्त भइसकेका छन् । साउदी अरबमा कोरोना भाइरसबाट छ हजार एक सय ७६ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया