माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कतिखेर के निर्णय लिन्छन् भन्न सकिँदैन । बास्तवमा उनी अस्थिर व्यक्ति हुन् । उनको विश्वास गरिहाल्नु राजनीतिक धोका हो । आफ्नो स्वार्थका लागि उनी जे गर्न पनि तयार छन् । यो कुरा हामी धेरै पहिलादेखि बुझ्दै आएको हो । अस्थिर नेतृत्वले मुलुकमा अस्थिरता निम्त्याउँछ । देश र जनताको पक्षमा यो नयाँ समीकरण बनेको हुँदै होइन, यो त देश मिलिजुली लुटन बनेको समीकरण हो । जनता त्यति उत्साहित हुनुपर्ने आवश्यकता छैन । राजनीतिमा एकाएक यस्ता राजनीतिक घटनाक्रम हुनु सामान्य भइसकेको छ । आश्चर्य मान्नुपर्ने जरुरी छैन । राजनीतिमा कतिखेर के हुन्छ थाहा नै नहँुदो रहेछ । अस्थिर राजनीतिमा सरकार बन्ने र ढल्ने कुरा सामान्य बन्दै आएको छ । यो कुनै नौलो कुरा होइन ।
बास्तवमा सरकार फेरबदल भइरहनु देशका लागि दुर्भाग्य नै हो । सत्ता स्वार्थका लागि जे मन लाग्छ त्यो गर्ने अधिकार राजनीतिकदलहरू र तिनका नेताहरूलाई छैन । जनताले यो कुरा मन पराइरहेका छैनन् । आज देश जुनगतिले अघि बढिरहेको छ बास्तवमा सन्तोष गर्ने कुनै ठाउँ नै छैन । अब रह्यो रविको नेतृत्वको रास्वपा सरकारमा जाने कुरा । अरू राजनीतिक दलहरूको त कुरा छाडौँ । धेरै राजनीतिकदलहरू पटकपटक सरकारमा गएर परीक्षण भइसकेका छन् । उनीहरूबाट जनताले थप आशा केही पनि गरेका छैनन् । रास्वपा सरकारमा सहभागी भइसकेको छ । अब यसले देश र जनताको पक्षमा के काम गर्ला भन्ने आमचासो बढेर गएको छ । तर यो गठबन्धनबाट बनेको सरकारमा बसेर केही काम गर्न सक्दैन । रास्वपा बदनाम मात्र हुने हो । यसले भएको साख पनि गुमाउने नै हो । यो भन्दा अरू के भन्ने ?
जनता भोकभोकै छन् । काम नपाएर बेरोजगार छन् । यस्ता गरिब जनताको पक्षमा काम गर्ने सरकारको खाँचो मुलुकले महसुस गरिरहेको छ । सत्ता भत्किने र बन्ने ठूलो कुरा होइन । सबैभन्दा ठूलो कुरा त देशको भाग्य र भविष्य बनाउने कुरा हो । यो विषयमा दलहरूको ध्यान किन जाँदैन ? सरकारमा गएर आफू र आफ्ना नातागोता बनाएर मात्र मुलुक बन्दैन । मुलुक बनाउन इच्छा शक्ति र ढृढसंकल्प चाहिन्छ । त्यो हाम्रा नेतामा अहिलेसम्म देखिएन । तलदेखि माथिसम्म आर्थिक अनियमितता मात्र बढ्दै गएको छ । यस्तो पाराले देश कसरी बनाउन सकिन्छ ?
आलोपालो सरकारमा जाने र देशको ढुकुटी सिध्याउने कामबाहेक अरू केही देखिएन । एमालेलाई लामो सयमसम्म सरकारदेखि बाहिर हुँदाको छटपटी थियो नै । अहिले बल्लतल्ल सरकारमा सहभागी हुने मौका पाएको छ । सरकारदेखि बाहिर हुँदा चर्को स्वरले चिच्याउने एमाले आज सरकारमा गएपछि स्वर अलि मधुर भएको छ । यो राजनीतिक चरित्रले जनतामा निराश मात्र बनाएको छ । जनतामा आश जगाउने दूरदर्शी नेता मुलुकले पाउन सकेन, यो नै देशका लागि दुर्भाग्य हो । आज नयाँ पुस्ताका युवाहरू राजनीतिप्रति त्यति आकर्षित छैनन् । कारण के हो भने राजनीतिप्रति विश्वास नहुनु ।
एक वर्ष नपुग्दै नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धन टुट्नु भनेको अस्थिर राजनीतिकरण हो । जबसम्म देशमा स्थिर राजनीति कायम हुँदैन तबसम्म यस्तै बनिरहने हो । यस्तो राजनीतिमा न देशको विकास हुन्छ न त अरू केही हुन्छ । अहिले नेकपा एमाले सहितको नयाँ गठबन्धन बने पनि जनताले केही आश गर्नु बेकार हो । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ यथावत् रहने खेलोबाहेक अरू केही देखिएन । देश र जनताले केही नपाएपछि यो नयाँ गठबन्धन बनेर के भयो र ? नयाँ गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) छन् । यी दलहरूबाट जनताले थप अरू के आश गर्ने ? अब प्रश्न गर्ने बेला आउँदै छ ।
कांग्रेस र माओवादीसहित अघिल्लो गठबन्धन आगामी निर्वाचनसम्म कायम गर्ने वाचाका साथ अघि बढेको थियो । तर, आगामी निर्वाचनसम्म त गएन नि । राजनीतिक बेइमानीले जनता वाक्कदिक्क नै छन् । यो गठबन्धन भत्किनुमा कांग्रेस र माओवादी दुवैले एकअर्कालाई दोषारोपण गरेका छन् । सरकारमा सँगै रहँदा सबै ठिकठाक हुने, सरकारदेखि बाहिर हुत्तिएपछि एकअर्काप्रति दोषारोपण गर्ने सिलसिला नयाँ होइन ।
पुरानो गठबन्धन किन टुट्यो भन्ने प्रश्न पनि आउने गरेका छन् । राजनीतिकदलहरू आ–आफ्नो दाउ हेरेर बसिरहेका थिए । जसले जे सोचेर बसेको थियो त्यो हुन सकेन । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि सकिएको छ । राष्ट्रिय सभाको २० जना सदस्यको पदावधि सकिएसँगै माओवादी सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा पुगेको छ । माओवादी विधान सम्मेलन र स्थायी समितिको बैठकले राष्ट्रिय सभा अध्यक्ष उम्मेद्वार आफ्नै पार्टीबाट बनाउने निर्णय गरेको थियो । देउवा र प्रचण्डबीच कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने सहमति भएको थियो । माओवादीले यो निर्णय माने पनि दुई दलबीच खटपट सुरु भएको थियो ।
राजनीतिमा विश्वास हुँदैन भन्ने कुरा त थाहा पाउँदै आइएकै हो । यति हुँदाहँुदै पनि एकअर्काप्रति बिश्वास गर्नु कांग्रेसका लागि भूल भयो । अब प्रचण्डले बाम एकताको शंख फुकेर केही वर्ष आफ्नो नेतृत्वमा सरकार चलाउने दाउ खेलिरहेका छन् । यो कुरा एमाले अध्यक्ष केपी ओलीलाई थाहा छ कि छैन ? त्यो त म भन्न सक्दिनँ । तर, समय क्रमसँगै फेरि ओलीले प्रचण्डबाट धोका पाउनु कुनै नौलो विषय हुने छैन । अहिले जति वाम एकताको कुरा गरे पनि आखिर भविष्यमा कुनै कुरा कार्यान्वयन हुने देखिँदैन । यो सब सत्ता स्वार्थको खेल हो । सबै दललाई सरकार चाहिएको छ । सरकारदेखि बाहिर बस्दा चिच्याउने हो । तर, सत्तामा बसेपछि म्याउ बिरालो बन्ने हो । नेपाली राजनीतिमा पहिलेदेखि देखिएको खतरनाक रोग यो हो ।
सबैका आआफना स्वार्थ पूरा भए सबै खुसी हुन्छन् । स्वार्थ पूरा नहँुदा नौटंकी देखाउँछन् । यो त हामीले बुझेको कुरा हो नी । सरकार परिवर्तन हँुदैमा जनताका समस्या हल हुने भए भनेर त्यति सारो खुसी हुनुपर्ने जरुरी देखिँदैन । देश र जनताको पक्षमा यिनीहरूले पनि एउटा सिन्कोसमेत भाँच्ने छैनन् । जनताको आँखामा छारो हाल्ने कामबाहेक अरू केही हुँदैन । पुराना दलहरूबाट जनता पुरै निराश छन् । जनता निराश हुनु भनेको राम्रो संकेत होइन । देशको अवस्थामा परिवर्तन आउन नसक्नु नै ठूलो समस्या हो । व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएन भने त्यसको खासै अर्थ नहुँदो रहेछ । देशको आर्थिक अवस्था दिनप्रतिदिन खस्कँदो अवस्थामा छ । सुधारको कुनै संकेत छैन ।
नेपाली जनताले त सत्ता समीकरण परिवर्तन खोजेका होइनन्, अवस्था परिवर्तन खोजेका हुन् । यो कुरा कुनै पनि राजनीतिक दल र तिनका नेताहरूले बुझ्न सकेनन् । नेताहरूले कुरा बुझ्न नसक्दा समस्या भएको हो । यो देशलाई दक्षिण एसियाकै विकसित देश बनाउँछौँ, बनाउँछौँ भनेर २० वर्षअघि बोलेका प्रचण्ड आफनो हातमा नेतृत्व हुँदा के हेरेर बसेका छन् ? जनतालाई ढाँट्नुको पनि सीमा हुन्छ । ढाँटको राजनीति त्यति लामो समयसम्म टिक्न नसक्ने हेक्का राख्नुपर्छ । उल्टोपाल्टो गरेर देशलाई बर्बाद गर्ने अधिकार कुनै राजनीतिक दल र तिनका नेताहरूलाई छैन । साभार सौर्य अनलाइन
प्रतिक्रिया