Pura Samachar

भट्टराईको ओलीलाई प्रश्न‘कोरोनाको महामारीमा चुनाव गर्ने कि खोपको बारेमा सोच्ने ?’

प्रकाशित: December 27, 2020
पूरा समाचार

भट्टराईको ओलीलाई प्रश्न‘कोरोनाको महामारीमा चुनाव गर्ने कि खोपको बारेमा सोच्ने ?’

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भष्मासुरको संज्ञा दिँदै असारमै ठेगान नलगाउँदा अहिलेको संकट आएको बताएका छन् ।

आइतबार पार्टीले काठमाडौंमा गरेको विरोध प्रर्दशनका क्रममा बोल्दै उनले प्रचण्ड माधव नेपालले ओलीलाई असारमै ठेगान नलगाउँदा अहिले सडकमा बस्नुपरेको उल्लेख गरे ।

उनले भने– ‘यो भष्मासुर हो, यसले हात राखेपछि माहादेव पनि भष्म हुनुपर्छ, ओली भष्मासुर हुन्, असारमै ठेगाउन लगाउनुस् भन्यौँ तर उहाँहरुले मान्नुभएन् ।

अहिले उहाँहरु सडकमा बस्न आइपुग्नुभएको छ ।’

उनले प्रधानमन्त्री ओलीले २०१७ सालको इतिहास दोहोर्याएको बताए ।

उनले भने– ‘१५ सालमा बनेको संविधान राजा महेन्द्रले स्वीकार गरे । त्यसमै टेकेर १७ सालमा संसद विघटन गरे ।

जसका कारण ३० बर्ष लडाई गर्नुपर्यो ।

५९ सालमा उनकै छोरा राजा ज्ञानेन्द्रले पनि त्यसै गरे ।

अहिले ओलीले पनि त्यसै गरेर इतिहास दोहोर्याएका छन् ।’

संसद विघटन कसैको लहडमा नहोस भनेर पूर्ण कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचित सांसद राख्न प्रस्ताव गरेपनि कसैले नमानेको र संसद विघटन नहोस भनेरै धारा ७६ राखिएको उल्लेख गरे ।

बुद्धिजिवी भनिएका र केही पत्रकारहरुले बेलायतको उदाहरण दिँदै प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछन् भनिरहेकोमा बेलायतमा पानी पर्यो भने छाता ओड्ने ? भन्दै प्रश्न गरे ।

बेलायतमा दुई तीन सय संसदीय अनुभव रहेको र बेलायतको उदाहरण हेरेर नै संसद विघटन गर्न नसक्ने प्रावधान राखेको उनले बताए ।

उनले भने– ‘बहुमत प्राप्त सरकारले संसद विघटन गर्न सक्दैन ।

पार्टी फुटेर बहुमत नभए ओलीले काँग्रेससँग मिलेर सरकार बनाउन सक्ने अवस्था थियो ।

काँग्रेससँग मिलेर पनि बहुमत सरकार बनाउन नसकिने अवस्थामा मात्र संसद विघटन गर्न सकिन्थ्यो तर यहाँ त त्यस्तो अवस्था नै रहेन ।’

संघीयता विरोधी, गणतन्त्र विरोधीको हातमा सत्ता पुगेका कारण इतिहास दोहोरिएको उनको भनाई छ ।

चुनाव घोषणा गर्ने अनि मन्त्रिपरिषद विस्तार गर्न पाइन्छ ? भन्दै आफू प्रधानमन्त्री भएका बखत संविधानसभा भंग भएका बेला ८ मन्त्रालय खाली राखेर काम चलाउन सरकार चलाएको स्मरण गरे ।

चुनाव घोषणा गर्ने अनि मैले जे गरेपनि हुन्छ भनेर सडकबाट मान्छे टिपेर मन्त्री बनाउँदै संविधानमा नभएको अभ्यास गरेको उनले बताए ।

उनले प्रश्न गरे– ‘कोरोनाको यस्तो महामारीमा चुनाव गर्ने बेला हो ? अहिले सरकारले कोरोना परीक्षणदर घटाएको छ, कम भएको देखाइरहेको छ ।

कोरोना अहिले नयाँ रुपमा आइरहेको छ, अहिले कोरोनाभन्दा ५६ प्रतिशत छिटो सर्ने नयाँ भाइरस आइरहेको छ ।

अरु देशले भ्याक्सिन लगाउन थालिसके ।

हाम्रोमा फेरि चुनाव गर्ने हो भने ३५ अर्बभन्दा बढी खर्च लाग्छ ।

बेरोजगारी बढेको छ ।

त्यता खर्च गर्ने हो कि चुनावमा खर्च गर्ने हो ?’ डा.भट्टराईले संसद जिउँदो रहेकोले सभामुखले संसद बैठक बोलाउन सक्ने उल्लेख गर्दै संविधानले दिएको अधिकार प्रयोग गर्न सभामुखलाई आग्रह गरे ।

प्रतिक्रिया