Pura Samachar

सत्ता स्वार्थका घात-अन्तर्घातको दुश्चक्रमा राजनीति

प्रकाशित: March 10, 2024
पूरा समाचार

सत्ता स्वार्थका घात-अन्तर्घातको दुश्चक्रमा राजनीति

 

डा. डीआर उपाध्याय खनाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि सरकार परिवर्तन गरेका छन् । उनले सरकार परिवर्तनलाई क्रमभंग भन्ने गरेका छन् । हामी अस्थिरताको दुश्चक्रमा फस्दै गएका छौं । देशलाई समृद्ध बनाउँछौं भनेर सपना बाँढेर राजनीति परिवर्तन गरेका दलहरू यतिबेला सत्तास्वार्थको पराकाष्ठामा तल्लीन छन्  । देशलाई समृद्ध बनाउने र जनतालाई प्रतिफल दिने दायित्वबाट नेतृत्व विचलित हुनु विडम्बनापूर्ण छ । सिद्धान्त, व्यवहार, नैतिकता, जवाफदेही र राजनीतिक संस्कारबाट नेता स्खलित हुँदा देश वर्तमान अवस्थाबाट गुज्रिएको छ । जसरी पनि सत्तामा पुग्न लालायित देखिएका दलले मुलुकलाई अस्थिरताको भुमरीमा धेकेलेका छन् । शक्तिमा पुग्न हानथाप गर्ने प्रवृत्तिले थप अस्थिरता बढाउँदै लगेको छ । मुलुकलाई प्रयोगशाला बनाइरहेका छन् ।

सत्तास्वार्थका डरलाग्दा घात-अन्तर्घातको दुश्चक्रमा नेपाली राजनीति जेलिएको प्रतित हुन्छ घटनाक्रमले । यसले गर्दा कति खेर मुलुकको राजनीति दुर्घट्ना हुने हो यो अहिले नै भनिहाल्ने स्थिति छैन । जनतालाई सरकार परिवर्तन भए के भयो नभए के भयो । अहिले जनताले यो विषयलाई खासै चासो दिइरहेका छैनन् । कारण के हो भने यी दलहरूबाट जनतामा थप आशा केही छैन । सत्ता बनाउने र ढलाउने खेलबाहेक प्रचण्डले अरू केही गरेनन् । उनले १४ महिनाको अवधिमा तीनवटा गठबन्धन बनाइसके । अझै कति बनाउने हुन कति क्रमभंग गर्दै जाने हुन् त्यो भने हेर्न बाँकी छ । अहिले फेरि कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले एमालेलगायत दलहरूसँग नयाँ गठबन्धन बनाउन पुगेका छन् ।
यो गठबन्धन कति टिक्ने हो कुनै ठेगान छैन । नेपाली जनतालाई कुनै पनि गठबन्धनप्रति विश्वास, रुचि र चासो छैन । यो सबै प्रमुख दल र तिनका नेताहरूको गलत कार्यशैलीको परिणाम हो । प्रमुख दल र तिनका नेताहरूको सोच, चिन्तन र कार्यशैलीमा परिवर्तन नआएसम्म मुलुकमा केही हुँदैन । दलहरू असफल भइरहेका छन् । पुराना दलहरूप्रति आमजनतामा वितृष्णा बढ्दो छ । यो सबै सत्ता चलाउने राजनीतिक दल र तिनका नेताहरूले मुलुक बनाउन सकेनन् । बरू आफू र आफ्ना नाता गोतामात्र बनाए । यसले गर्दा जनताको दलप्रति विश्वास घट्दै छ । नयाँ गठबन्धनप्रति अधिकांश जनता सन्तुष्ट हुन सकिरहेका छैनन् । आमजनता रुष्ट बन्दै गएका छन् । मुलुकमा चौतर्फी भ्रष्टाचार र कुशासन मौलाउँदो छ ।

जुन सरकार आए पनि यसमा सुधार हुन सकेन । जनता वाक्क दिक्क छन् । नागरिकहरू सरकारी सेवा लिन जाँदासमेत घुस खुवाउनुपर्ने बाध्यता छ । त्यसैले पनि आमनागरिक सरकार र सत्तासँग वाक्क दिक्कको अवस्थामा छन् । गठबन्धन लोभी-पापीहरूको ठगिखाने भाँडो भएको छ । विगत १४ महिनाको अवधिमा प्रचण्ड सरकारले जनताको पक्षमा प्रभावकारी काम गर्न सकेन । विकास, सुशासन र समृद्धिको गति पूर्णरूपमा अघि बढन सकेन । त्यसभन्दा अघिको गठबन्धन सरकारले पनि देशमा केही गर्न सकेन । आफूलाई पैसा कमाउने र मोजमस्ती गर्ने कामबाहेक कुनै सरकारले देशको पक्षमा काम गर्न सकेका छैनन् । अहिलको नयाँ गठबन्धन सरकारले केही गर्दैन थप आश गर्नुपर्ने अवस्था केही देखिँदैन ।

गठबन्धनका नेताहरूलाई जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षासम्बन्धी समस्या के-कसरी समाधान गर्न सकिन्छ भन्नेमा कुनै चासो नै छैन । गठबन्धन बैठकमा यी विषयमा खासै छलफल हुँदैन । विगतको गठबन्धनले कहिल्यै देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने सवालमा केही सोचेन । आफ्ना मान्छे नियुक्ति गर्ने योग्यता, दक्षता र क्षमता नहेर्ने जुन गलत काम भइरहेका छन् । त्यसले राम्रो सन्देश दिइरहेको छैन । यस्तो प्रवृत्तिले मुलुकमा नराम्रो भइरहेको छ । कुशासन झनै मौलायो । सेवाप्रवाह कमजोर भयो । जनतामा निराशा अझै बढ्यो । गठबन्धनका बैठकहरूले कहिल्यै आमजनताका चासोका विषयमा कुरा उठाउन सकेनन् ।

अहिले नयाँ गठबन्धनको सरकार बनेको छ । यो सरकारले खासै केही गरेर देखाउन सक्ने छैन । यद्यपि प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनले काम गर्ने विषयमा अवरोध सिर्जना गरेको र कांग्रेसलगायत दलका मन्त्रीहरूले काम गर्न नसकेकाले गठबन्धनसहित सरकारका मन्त्रीहरू फेरबदल गर्नुपरेको स्पष्टीकरण दिइरहेका छन् । उनको यस्तो स्पष्टीकरण खासै चित्त बुझ्दो छैन । प्रचण्डले साँच्चै नै केही गरेरै देखाउनका लागि गठबन्धन परिवर्तन गरेको उद्घोष गरेका हुन् भने उद्घोष गरेरमात्र हुँदैन, व्यवहारमा देखाउन सक्नुपर्छ । व्यवहारमा देखाउन उनी आफैं पूर्णरूपले सच्चिनुपर्छ । उनले बोली र व्यवहारमा पूर्णरूपमा एकरूपता ल्याउनुपर्छ ।

राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व नसच्चिएसम्म यहाँ केही हुँदैन । दुवैमा इमानदारीता, नैतिकता र पारदर्शी चरित्र हुन जरुरी छ । राजनीतिक नेतृत्व सही रहन सक्यो भने प्रशासनतन्त्र आफैं सुध्रँदै जाने छ । त्यसैले अब प्रधानमन्त्री प्रचण्डको पहिलो प्राथमिकता आफू सच्चिएर अघि बढने संकल्प गर्नुपर्छ । त्यसो भयो भनेमात्र जनताले विस्वास गर्ने ठाउँ रहन सक्छ । कर्मचारीको आचरण र व्यवहारमा सुधार ल्याउन सक्नुपर्छ । नयाँ गठबन्धनको सरकारले देश र जनताको पक्षमा राम्रो काम गरेर देखाउन सक्लाजस्तो छैन । अब साँच्चै नै यो गठबन्धनले आम जनतामा आशाको सञ्चार जगाउन सक्छ कि सक्दैन ? प्रधानमन्त्री प्रचण्डले मुलुकलाई साँच्चै रूपान्तरण गर्ने हो भने गम्भीर भएर अघि बढनुपर्छ ।

त्यसका लागि आफैं सादगी भएर देखाउन सक्नुपर्छ । उनले प्रशासनमा व्याप्त रहेको विकृति र विसंगति हटाएर अघि बढ्नुपर्छ । यो गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीसमेत सहभागी भएकाले केही आशा गर्न सकिन्छ । सरकारदेखि बाहिर छँदा रवि लामिछानेले सुशासनका कुरा धेरै गरे । अब उनले सरकारमा बसेर के गर्छन् त्यो सबैमा चासोको विषय बनेको छ । अघिल्लो पटक छोटो समय गृहमन्त्री बनेर राम्रो काम गरेकै हुन् । अब के गर्छन् त्यो हेर्न बाँकी छ । अरूभन्दा अब रवि लामिछाने अग्नि परीक्षामा छन् । कुरा गर्नु र काम गर्नुमा आकाश धर्ती फरक हुन्छ । जति बाहिरबाट कराउन सिजलो हुन्छ त्यति सरकारमा गएर काम गर्न गाह्रो हुन्छ ।

यो कुरा सबैले बुझ्न सक्नुपर्छ । कुरा गरेरमात्र हुँदैन, व्यवहारमा देखाउन सक्नुपर्छ । देश बनाउन सबैको सामूहिक प्रयास आवश्यक हुन्छ । कसैको स्पष्ट बहुमत आउन नसक्दा सरकार बनाउने र ढाल्ने खेल संसदीय अभ्यासमा भइरहन्छ । यो विगतमा हुँदै आएको हो । यस्ता खेलले देशलाई संकटतर्फ धकल्न सक्छ । अब पनि प्रमुख दल गम्भीर बन्न सकेनन् भने देशमा समस्या निम्तिन सक्ने खतरा छ । मुलुकको देस्रो दल कांग्रेस सत्तादेखि बाहिर गएर अहिले प्रमुख प्रतिपक्ष दल बन्न पुगेको छ । यसले प्रमुख प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्दै जान्छ त्यो हेर्दै जानुपर्नेछ । सरकार गलत बाटोतर्फ अघि बढ्न खोज्दा सही बाटोमा ल्याउने काम प्रतिपक्षको हो । यो काम कसरी अघि बढ्छ समयले बताउला ।

एमाले र माओवादीले आफूहरू सच्चिएर साँच्चै नै मुलुकलाई सुधार गर्ने लक्ष्य लिएर अघि बढ्ने हो भने उनीहरूले धेरै गर्न सक्छन् । यदि यसो गर्न नसकी गठबन्धन फेरिरहने, सत्ता-शक्तिमा मात्रै रमाइरहने हो भने उनीहरूलाई जनताले चुनावमा सजाय पक्कै दिने छन् । देश र जनतालाई परिवर्तनको अनुभूति दिन सक्नुपर्छ । त्यसो भयो भनेमात्र केही हुन्छ । जनतालाई ढाँटेर गरेको राजनीति टिकाउ हुँदैन । यहाँ जनता पटक-पटक झुक्किएका छन् । जनता झुक्किदा देशमा समस्या निम्तिएको हो । देश र जनताको पक्षमा राम्रो काम नभए प्रधानमन्त्री र नयाँ गठबन्धन आफैं पतनतर्फ जाने निश्चित छ । अहिलेको अवस्थामा कुनै सुधार गर्न नसकेमा उनीहरूका लागि आगामी दिन झन चुनौती बनेर खडा हुने छन् ।साभार हिमालय टाइम्स

प्रतिक्रिया