Pura Samachar

फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटमा नेपालले बहराइनको सामना गर्दै

प्रकाशित: March 21, 2024
पूरा समाचार

फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटमा  नेपालले  बहराइनको सामना गर्दै

काठमाडौँ। फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार बहराइनको सामना गर्दैछ। बहराइनको राष्ट्रिय रंगशालमा हुने यस खेल नेपाली समयअनुसार १२:४५ बजे शुरू हुने छ।

समूह एचमा रहेको नेपालले होम एन्ड अवेका आधारमा हुने छनोटअन्तर्गत बिहीबारको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने थियो।

तर, दशरथ रंगशालको मैदानको स्तर राम्रो नभएकोले नेपालले होम म्याच बहराइनमै खेल्न लागेको हो। यस्तै, नेपालले चैत्र १३ गते अवे म्याच पनि बहराइनमै खेल्नेछ। नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो।

बहराइनसँग खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेलेको थियो। युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ५-१ गोल अन्तरले पराजित भएको थियो।

खेल कुल १४० मिनेट खेलाइएको थियो। ३५-३५ मिनेटको चार हाफमा खेलाइएको खेलमा मलेसियाका डारेन लोकले ३१औँ र ३५औँ मिनेटमा गोल गरेका थिए।

यस्तै, स्टुअर्ट विल्किनले ४६औँ, डानिएल टिङले ४८औँ र मुखाइरी अज्मल माहदीले १३५औँ मिनेटमा गोल गरेका थिए।

नेपालका लागि पहिलो पटक सिनियर टोलीमा परेका समिर तामाङले एक मात्र गोल फर्काएका थिए।

प्रतिक्रिया