
एजेन्सी । चेन्नेई सुपर किंग्स (सिएसके) ले नयाँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) मा विजयी सुरुवात गरेको छ ।
शुक्रवार राति भएको उद्घाटन खेलमा साविक विजेता समेत रहेको सिएसकेले रोयल च्यालेन्जर्स बेङलोरु (आरसिबी) माथि ६ विकेटको सहज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
सहज जितसंगै सिएसकेले लिग तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ ।
चेन्नेईको घरेलु मैदान एम. ए. चिदमबरम रंगशालामा भएको खेलमा १७४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको सिएसकेले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १७६ रन जोड्यो ।
सिएसकेका लागि शिभम् दुबेले २८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेर अविजित रहँदा रविन्द्र जडेजाले १७ बल खेल्दै १ छक्का प्रहार गरेर २५ रन जोड्दै अविजित रहे ।
त्यस्तै, ओपनर ब्याट्सम्यान रचिन रविन्द्रले १५ बलमा ३ चौका र ३ छक्का प्रहार र्गै ३७ रन जोडेर आउट हुँदा अजिन्क्या राहनेले १९ बल खेल्नेक्रममा २ छक्का प्रहार गरेर २७ रन जोडेर पेविलियन फर्किए ।
यता, डर्याल मिटचेलले १८ बलमा २ छक्का प्रहार गर्दै २२ रन जोडेर आउट हुाँ कप्तान ऋतुराज गाइकवादले १५ बलमा ३ चौका प्रहार गर्दै १५ रन जोडेर पेविलियन फर्किए ।
सिएसकेले अतिरिक्त रुपमा १६ रन जोड्यो ।
आरसिबीका लागि क्यामरन ग्रिनले ३ ओभर बलिङ गर्दै २७ रन दिएर २ विकेट लिँदा कर्ण शर्मा र यश डयालले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको आरसिबीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १७३ रन जोड्यो ।
आरसिबीका लागि अनुज रावतले २५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४८ रन जोड्नेक्रममा रनआउट हुँदा दिनेश कार्तिकले २६ बल खेल्नेक्रममा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडेर अविजित रहे ।
त्यस्तै, कप्तान फाफ दु प्लेसिसले २३ बलमा ८ चौका प्रहार गर्दै ३५ रन जोडेर आउट हुँदा विराट कोहोलीले २० बल खेल्दै १ छक्का प्रहार गरेर २१ रन जोड्दै पेविलियन फर्किए ।
यता, क्यामरन ग्रिनले २२ बलमा १ चौका प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा ग्लिन म्याक्सवेल र रजत पातिदार शुन्य रनमा पेविलियन फर्किए ।
आरसिबीले अतिरिक्त रुपमा १३ रन जोड्यो ।
सिएसकेका लागि मुस्ताफिजुर रहमानले ४ ओभर बलिङ गर्नेक्रममा २९ रन दिएर सर्वाधिक ४ विकेट लिँदा दिपक चाहरले ४ ओभर बलिङ गर्दै ३७ रन खर्चिएर १ विकेट लिए ।
आईपिएलअन्तर्गत सनिवार दुई खेल हुनेछ ।
पहिलो खेलमा पञ्जाव किंग्स र दिल्ली क्यापिटल खेल्नेछ भने दोस्रो खेलमा कोलकता नाइट राइर्डस र सनराइजर्स हैदराबाद प्रतिस्पर्धामा उत्रिनेछ ।
प्रतिक्रिया