
काठमाडौं । देशका केही स्थानमा आइतबार (भोलि) र सोमबार (पर्सि) पनि वर्षा हुने सम्भावना छ । आइतबारको तुलनामा सोमबार वर्षाको सम्भावना बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंसहित देशका केही स्थानमा आइतबार दिउँसो वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । सो समयअघि भने घाम लाग्न सक्ने उनले बताए ।
“आइतबार बिहान मौसममा सुधारजस्तो देखिन्छ । सफाजस्तै हुनेछ,” उनले भने, “१२–१ (दिउँसो) बजेपछि वर्षाको सम्भावना छ ।”
काठमाडौंमा आइतबार दिउँसो करिब १२ बजेदेखि बदली (आकाशमा बादल लाग्ने)को सम्भावना रहेको उनले बताए । काठमाडौंमा आइतबार दिउँसो २–३ बजे आसपासदेखि वर्षा हुन सक्ने उनले उल्लेख गरे ।
“लगभग १२ बजेदेखि बदली र २–३ बजेतिर पानी पर्नेजस्तो देखिन्छ,” उनले भने । हल्कासम्म वर्षा हुने र त्यो निरन्तर नहुने उनको भनाइ छ ।
प्रतिक्रिया