Pura Samachar

त्रिभुवन आर्मी क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

प्रकाशित: March 26, 2024
पूरा समाचार

त्रिभुवन आर्मी क्लब  इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

इटहरी।  त्रिभुवन आर्मी क्लब इटहरीमा जारी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वार्टरफाइनलमा बिर्तामोड युनाइटेड झापालाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै आर्मी क्लबले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

राष्टिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत गए राति इटहरी रंगशालामा भएको खेलमा  एक–एक गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरमा भएको हो ।

पेनाल्टी सुटआउटमा त्रिभुवन आर्मीका जितेन्द्र कार्की, नवयुग श्रेष्ठ र फत्तेमान घलेले गोल गरे भने कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोकेका थिए ।

बिर्तामोडका विशाल दर्जी र मौसम सुब्बाको प्रहार गोलमा परिणत भयो भने विवेक पौडेल, आशिष चापागाईँ र देवेन्द्र तामाङको प्रहार विफल हुन पुग्यो ।

 

निर्धारित समयको ८१औँ मिनेटमा बिर्तामोडका आशिष चापागाईँले पेनाल्टीमार्फत गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टीमार्फत नै गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

सोमबारको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर बिकेश कुथु घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे । आजको अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम (एनआरटी)बीच हुनेछ । आगामी शनिबार हुने फाइनलमा विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया