Pura Samachar

भारतलाई अफगानिस्तानले २–१ गोल अन्तरले हरायाे

प्रकाशित: March 27, 2024
पूरा समाचार

भारतलाई अफगानिस्तानले २–१ गोल अन्तरले हरायाे

काठमाडौँ। फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा भारतमाथि अफगानिस्तानले पुनरागमन जित हासिल गरेको छ।

गान्धी एथलेटिक स्टेडियम गुहाटीमा मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली भारतलाई अफगानिस्तानले २–१ गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफमा १–० गोल अन्तरले पछि परेको अफगानिस्तानले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै खेलमा १-२ को पुनरागमन जित हासिल गर्‍यो।

अफगानिस्तानको जितमा रहमत अकबरी र शरिफ मुहम्मदले १/१ गोल गरे। भारतका लागि कप्तान सुनिल क्षेत्रीले गरेको गोल सान्त्वना बन्यो।

खेलमा शुरूआती अग्रता भारतले लिएको थियो। ३८औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाए।

तर,निर्धारित समयको २० मिनेट बाँकी रहँदा अफगानिस्तान खेलमा फर्कियो। फाइनल थर्डमा तीन फरवार्डसहित अफगानिस्तानले काउन्टरमा अट्याक गरेको थियो।

रहमत अकबरीले बक्स बाहिरबाट प्रहार गरेको बल डिफेन्डर राहुल भेकेको खुट्टाबाट डिफ्लेसन हुँदै गोलमा परिणत भयो।

८८औँ मिनेटमा अफगानिस्तानले पेनाल्टी पायो। भारतीय गोलरक्षक गुरप्रीत सिंहले बक्समा अफगानिस्तानको फरवार्डलाई रोक्न खोज्दा फउल गर्न पुगे।

प्राप्त पेनाल्टीमा शरिफ मुहम्मदले गोल गर्दै अफगानिस्तानलाई २–१ को जित दिलाए। जितसँगै अफगानिस्तानले ४ खेलबाट ४ अंक जोडेको छ।

जारी विश्वकप छनोटमा अफगानिस्तानको यो पहिलो जित हो। यसअघि भारतविरुद्धको पहिलो लेगमा घरेलु मैदानमा अफगानिस्तान गोलरहित बराबरीमा रोकिएको थियो।

समान खेलबाट ४ अंकसहित भारत समूह ‘ए’ को दोस्रो स्थानमा यथावत् छ। एक खेल कम खेलेको कतार ९ अंकसहित शीर्षस्थानमा छ।

प्रतिक्रिया