Pura Samachar

नेपालले गुजरातलाई ८ विकेटले हराउँदै विजयी सुरूवात

प्रकाशित: March 31, 2024
पूरा समाचार

नेपालले गुजरातलाई ८ विकेटले हराउँदै विजयी सुरूवात

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै विजयी सुरूवात गरेको छ ।

जितकालागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा रोहित पौडेल २६ बलमा ३ चौकासहित ३३ र अनिल साह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे ।  कुशल भुर्तेलले १७ र आसिफ शेखले १६ रन बनाए ।

गुजरातका लागि हेमान्ग पटेल र तेजस पटेलले समान एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको योगफल तयार पार्यो ।

गुजरातका लागि रुद्र पटेलले २३, हेमान्ग पटेलले २०, सरल प्रजापतीले १७, अभिषेक देसाइले ११ र स्मित पटेलले १० रन बनाए ।

नेपालका लागि गुल्सन झाले चार ओभरमा २२ रन खर्चिदै चार विकेट लिए । यसैगरी करण केसीले तीन र सोमपाल कामीले एक विकेट लिए ।  अब नेपालले दोस्रो खेलमा मंगलबार बरोडा क्रिकेट संघको सामना गर्नेछ ।

प्रतिक्रिया