Pura Samachar

सिक्किम ड्रागन विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

प्रकाशित: April 1, 2024
पूरा समाचार

सिक्किम ड्रागन विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

विराटनगर। पाहुना टोली सिक्किम ड्रागनले अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

विराटनगरको सहिद रंगशालामा आइतबार भएको खेलमा बुढासुब्बा गोल्डकपको विजेता न्यूरोड क्लब (एनआरटी)लाई २–१  गोलले पराजित गरी सिक्किम सेमिफाइनलमा पुगेको हो।

जितसँगै सिक्किमले फाइनल प्रवेशको लागि मंगबलार हुने मच्छिन्द्र एफसी र साथर्न समिति एफसी कोलकाताको विजेता टिमसँग खेल्नेछ।

जितको लागि सिक्किमका ह्यारिसन र आदर्श तामाङले गोल गरे। एनआरटीको तर्फबाट शिशिर लेखिले सान्त्वना गोल फर्काए।

एनआरटीका अफिज ओलावालेले ४० औँ मिनेटमा निकालेको पास शिशिरले गोल गरी टिमलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोल खाएपछि दबाबमा परेको सिक्किमले दोस्रो हाफबाट आक्रामक खेल पस्कियो। ५९ औ मिनेटमा सिक्किमका ह्यारिसनले गोल गर्दै खेल बराबरीमा ल्याए।  लाक्पा शेर्पाले मध्य भागबाट निकालेको पासलाई ह्यारिसनले डिबक्स भित्रबाट आकर्षक गोल गरे।

निक्कै प्रतिस्पर्धात्मक खेलमा सिक्किमले जित निकाल्न अतिरिक्त समय कुर्नुपर्‍यो। निर्धारित ९० मिनेटको समय १–१ गोलको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर ११९ औँ मिनेटमा सिक्किमका आदर्श तामाङले विजय गोल गरे। सिक्किमका जसमान गुरुङलाई एनआरटीका खेलाडीले फल खेलेपछि रेफ्री श्रवण लामाले फ्रिकिक दिएका थिए। आदर्शले प्रहार गरेको फ्रिकिक बलले जाली चुमेको थियो। टिमको जितमा सिक्किमका आदर्श खेलको प्लेयर अफ द म्याच घोषित भए। उनले नगद ११ हजार पाए।

एनआरटीले आक्रामक खेल पस्किँदै आधा दर्जन बढी गरेको पोस्ट आक्रमणलाई सिक्किमका प्रिसोले विफल पारेर टिमलाई अन्तिम चारको यात्रा गराए।

एनआरटीका  रिचार्डले खेल सुरु भएको ७ औँ मिनेटमा प्रहार गरेको बेल सिक्किमका प्रिसोले उत्कृष्ट बचाए। त्यसलगतै सिसिर लेखिले प्रहार बाहिरियो। २१ औ मिनेटमा एनआरटीका अफिज ओलावालेले प्रहार सिक्किमका किपर प्रिसोले उत्कृष्ट बचाए।

२९औँ मिनेटमा सिक्किमका आदर्श तामाङले ३० यार्डदेखि गरेको प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले पन्च गरेर बल बारमाथिबाट फालिदिए।

पहिलो हाफको अतिरिक्त  समयको एक मिनेटमा मध्यभागबाट बललाई वान भर्सेस वानमा लगेर एनआरटीका आफिज ओलावाको डिबक्स नजिकबाट गरेको  प्रहार  सिक्किमको किपर प्रिसोले गोल हुनबाट बिफल पारिदिए।

खेलको अन्त्यमा शिशिरले डिबिक्स भित्रबाट गरेको प्रहार बाहिरिदा खेल बराबरीमा ल्याउने सुन्दर अवसर चुकाए।

हारपछि एनआरटीको प्रशिक्षक जीवन सिङकेमनले खेलाडीहरूबीच आन्तरिक तालमेल नमिलेको कारणले पराजय भोग्नु परेको बताए। ‘आइतबार दुई जना खेलाडी काठमाडौँ जानुपर्ने बाध्यता पनि भयो। दुई खेलाडी नभएको कारणले पनि हार भयो,’ उनले भने।

जितपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटिया खेलाडीहरूले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेकाले जित निकाल्न अतिरिक्त समय पर्खिनुपरेको बताए।

सोमबारको खेल इटहरी गोल्डकपको विजेता चर्च व्वाईज युनाइटेड र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ।

प्रतिक्रिया