Pura Samachar

आज पर्वैपर्व : उधौली पर्व, धान्य पुर्णिमा, तमु ल्होसार, योमरी पुन्हि र ज्यापु दिवस

प्रकाशित: December 30, 2020
पूरा समाचार

आज पर्वैपर्व : उधौली पर्व, धान्य पुर्णिमा, तमु ल्होसार, योमरी पुन्हि र ज्यापु दिवस

काठमाडौं,
पुस १५ ।

आज उधौली पर्व, धान्य पुर्णिमा, तमु ल्होसार, योमरी पुन्हि र ज्यापु दिवस जस्ता पर्वरहेका छन् । आज धान्यपूर्णिमा, योःमरी पूर्णिमा, उधौली र ल्होसार पर्व आ-आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाइँदै छ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण विशेष सुरक्षा सावधानी अपनाएर चाडपर्व मनाउन विज्ञहरूले सुझाव दिँदै आएका छन् ।

मंसिर शुक्ल पूर्णिमाको दिन किराँत समुदायले उधौली पर्व मनाउँने गर्छन् । यो पर्व किरात समुदायका राई, लिम्बु, सुनार र याक्खा जातिले संयुक्त रुपमा मनाउने गर्छन् । किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । किरात समुदायले बैशाख शुक्लपक्षमा बाली लगाउने बेला उभौली पर्व मनाउने र मंसिरमा अन्नबाली घर भित्त्र्याएपछि प्रकृति र पितृलाई स्मरण गर्ने परम्परा अनुसार उधौली मनाउने गरिन्छ । उभौलीमा खेतीपाती लगाउने बेला भएकाले खेतीपाती राम्रोहोस् भनी पूजा गर्ने र उधौलीमा खोतीपाती राम्रो भएकोमा प्रकृति, भूमि, किरा फट्यांग्र्रा, चराचुरुगंीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रुपमा मनाउने गरिन्छ । पूजापछि आ–आफ्नो परम्परा अनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलानाच लागयतका नाच नाचेर मनोरञ्जन गरिने परम्परा रहेको छ । यो पर्वलाई लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर भन्छन् ।

आज योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व मनाइँदैछ । नेवार समुदायले योमरी पूर्णिमा पर्व मनाउँदैछन । योमरिको त्रिकोणात्मक आकारले षटकोणको अर्धभागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रुपमा लिइन्छ । पानीको देवताकारुपमा काठमाडौंवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरि चढाउने परम्परा चलि आएको छ । लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ । धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ ।

आजैको दिन ज्यापु दिवस पनि मनाइने गरिन्छ । ज्यापू सस्कृतीको रक्षार्थ बिसं २०६१ सालवाट यस दिवस मनाउन थालिएको हो ।

यस्तै पूर्णिमा अर्थात् धान्य पूर्णिमा नामैले पनि यो पर्वमा धानको विशेष महत्व भएको बुझिन्छ । धानलाई लक्ष्मीको रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ । यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ । विशेषगरी पहाडी भेगमा आज गोठपूजा गर्ने चलन छ । कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने परम्परा छ । स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ । कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाउने गरिन्छ । नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा छ । यस्तै आज कतिपय समुदायमा देवाली पूजामा बोका कुखुरा, हाँसको बलिदिने प्रचलन पनि रही आएको छ ।

आज तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होछार मनाइँदै छ । बौद्धधर्मअन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार आज काठमाडौं उपत्यकालगायत गुरुङ बसोबास भएका देशका विभिन्न भागमा मनाइँदैछ । तमु ल्होछार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रुपमा लिइन्छ ।

नयाँ वर्षका रूपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन् । गुरुङ जातिले आज पुस १५ गते तमु ल्होछारका रूपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होछार मनाउने संस्कार रही आएको छ ।

‘ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र ती वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ ।

प्रतिक्रिया