काठमाडौं । एसीसी मेन्स प्रिमियर कप आजबाट ओमानमा सुरु हुदै छ । दश राष्ट्रको सहभागीता रहेको यस कपको पहिलो दिन नेपालले मलेसियाको सामना गर्दै छ ।
नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा चारबाट सुरु हुदैछ ।
मलेसियालाई हराउँदै प्रिमियर कपमा सुखद सुरुआत गर्ने लक्ष्यमा नेपाल रहेको छ ।
नेपाल र मलेसियाबीच टी-२० आईमा हालसम्म नौ पटक भेट भएकोमा नेपाल आठ खेलमा विजयी हुँदा एक खेल मलेसियाले जितेको छ ।
मलेसियासँगको पछिल्लो पाँच भेटमा भने नेपाल अपराजित छ ।
प्रिमियर कपमा आयोजक ओमान, नेपाल, मलेसिया, हङकङ, युएई, बहराइन, कतार कुवेत, कम्बोडिया र साउदी अरेबिया सहभागी रहेका छन् ।
प्रतियोगितामा सहभागी दश राष्ट्रलाई दुई समूहमा विभाजन गरएिको छ । नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा मलेसिया, हङकङ, साउदी अरेबिया र कतार छन् ।
समूह बी मा आयोजक ओमानसहित युएई, कुवेत, कम्बोडिया र बहराइन छन् ।
प्रतियोगितामा नेपालको दोस्रो खेल बैशाख १ मा कतारसँग रहेको छ । दोस्रो खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ मा हुनेछ । नेपालले तेस्रो खेलमा बैशाख ३ मा हङकङसँग खेल्नेछ । यो खेल भने नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।
समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख ५ मा साउदी अरेबियासँग खेल्ने छ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।
हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी-२० फर्म्याटमा हुनेछ ।
प्रतिक्रिया