Pura Samachar

नेपाल मलेसियामाथि ५ विकेटको जित निकाल्दै

प्रकाशित: April 12, 2024
पूरा समाचार

नेपाल मलेसियामाथि ५ विकेटको जित निकाल्दै

काठमाडौं  । दोस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ ।

शुक्रवार भएको खेलमा साविक विजेता नेपालले मलेसियामाथि ५ विकेटको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

जितसंगै नेपालले समूह ‘ए’ मा महत्वपूर्ण २ अंक जोड्न सफल रह्यो ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा १४४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा विकेटकिपर आसिफ शेखले ३५ बलमा ४ चौका प्रहार गर्दै ३२ रन जोड्दा कप्तान रोहित पौडेलले २४ बलमा १ छक्का प्रहार गर्दै २८ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले २४ बलमा ३ छक्का प्रहार गर्दै २४ रन जोडेर अविजित रहँदा दिपेन्द्र सिंह ऐरीले ११ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरेर २० रन जोड्दै पेविलियन फर्किए ।

यता, गुलशन झाले ७ बलमा १ चौका र २ छक्का प्रहार गर्दै १९ रन जोड्दै अविजित रहँदा सुन्दिप जोराले ९ बल खेल्दै १२ रन जोडेर अविजित रहे ।

कुशल मल्लले ७ रन जोडे ।

नेपालले अतिरिक्त रुपमा २ रन जोड्यो ।

मलेसियाका लागि कप्तान भिरानदिप सिंहले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चिएर ३ विकेट लिँदा पवनदिप सिंह र मुहम्मद वाफिकले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १४३ रन जोड्यो ।

मलेसियाका लागि कप्तान भिरानदिप सिंहले ५७ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ७२ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा सरभिन मुनिन्डेले ३३ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ४१ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान मुहम्मद शुकोरले १८ बलमा ३ चौका प्रहार गर्दै १६ रन जोडेर पेविलयिन फर्किदा साइद अजिजले ६ बल खेल्दै १ चौका प्रहार गरेर ६ रन जोडेर पेविलयिन फर्किए ।

यता, नाजमुस साकिब ३ रनमा अविजित रहे ।

मलेसियाले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ ओभर बलिङ गर्दै १४ रन दिएर २ विकेट लिँदा अबिनाश बोहराले ४ ओभर बलिङ गर्दै २८ रन खर्चिएर १ विकेट लिए ।

प्रतिक्रिया