सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राति हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधि जित्ने दाउमा हुनेछन्। पुलिस ८ वर्षपछि दोस्रो पटक जितपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो। मच्छिन्द्र भने पहिलो पटक उपाधिनजिक पुगेको हो। यसअघि छैटौँ सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो।
यता, मच्छिन्द्र भने चौथो सिमरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको थियो। मनाङ मर्स्याङ्दी क्लबसँग १–० ले पराजित भएर फर्किएको मच्छिन्द्र १० वर्षपछि प्रतियोगिता खेल्न सिमरा आएको हो।
अघिल्लो साता विराट गोल्डकपको उपाधि लिएर सिमरा आएको मच्छिन्द्र मोफसलमा हुने प्रतियोगिताको चौथो उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छ। ०८० मा आयोजना भएका मोफसलकै प्रतियोगितालाई लक्षित गरी चर्चित खेलाडीहरूलाई टोलीमा अनुबन्धन गरेको मच्छिन्द्रले विराटसहित मकवानपुरको बागमती गोल्डकप र काठमाडौँमा भएको केपी ओली कपको उपाधि जितेको थियो।
पुलिसले फाइनल खेलमा शिशिर चौधरीलाई गुमाउनेछ। दोहोरो पहेँलो कार्डका कारण शिशिरले फाइनल खेल्न पाउने छैनन्। शिशिरले एपीएफविरुद्धको सेमिफाइनल खेलमा गोल लाइनबाट बल क्लिअर गर्दै टोलीलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निभाएका थिए।
यता, स्टार खेलाडी विमल घर्तीमगर, मनिष डाँगीसम्मिलित मच्छिन्द्रको टोलीमा भने कुनै परिवर्तन हुने छैन। मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आयुष घलान टोलीमा थपिने सम्भावना रहे पनि निश्चित नभएको जानकारी दिए।
यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टोलीलाई उपाधिको दाबेदारको रूपमा हेरिएको छ। मच्छिन्द्रले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० र सेमिफाइनलमा सलहेश युवा क्लब सिराहालाई २–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। पुलिसले भने क्वार्टरफाइनलमा आयोजक सिमरालाई २–१ र सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लबलाई ३–२ ले पराजित गर्दै उपाधि होडमा आफूलाई उभ्याएको हो।
प्रतिक्रिया