Pura Samachar

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत दोस्रो खेल आज खेल्दै

प्रकाशित: April 28, 2024
पूरा समाचार

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत दोस्रो खेल आज खेल्दै

काठमाडौँ। नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत दोस्रो खेल आइतबार खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:१५ बजेबाट शुरू हुने छ। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ९ रन चाहिएको थियो। उक्त ओभर गर्न ओशान थोमस आएका थिए। उनको पहिलो बलमा गुल्शनकुमार झाले १ रन मात्रै लिए।

दोस्रो बलमा प्रतिश जीसीले पुन: १ रन लिए। तर, तेस्रो र चौथो बलमा लगातार २ चौका प्रहार गर्दै गुल्शनले नेपाललाई जित दिलाए।

गुल्शनकुमार झा ४ बलमा २ चौकासहित ९ र प्रतिश जीसी २ बलमा १ चौकासहित ५ रनमा अविजित रहे। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ११२ रन बनाए। ५६ बल खेलेका उनले १० चौका र ८ छक्का प्रहार गरे।

दीपेन्द्रसिंह ऐरी २४, कुशल मल्ल १६ र कुशल भुर्तेल १६ रनमा आउट भए।  वेस्ट इन्डिजका म्याथ्यू फोर्डे र ओबेद म्याककोएले २/२ विकेट लिए। किमो पलको नाममा १ विकेट रह्यो।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

प्रतिक्रिया