Pura Samachar

टी–२० विश्वकपका लागि केन विलियम्सनको कप्तानीमा न्यूजिल्यान्डले १५ सदस्यीय टोली घोषणा

प्रकाशित: April 29, 2024
पूरा समाचार

टी–२० विश्वकपका लागि केन विलियम्सनको कप्तानीमा न्यूजिल्यान्डले १५ सदस्यीय टोली घोषणा

काठमाडौँ। न्यूजिल्यान्डले टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ। केन विलियम्सनको कप्तानीमा न्यूजिल्यान्डले १५ सदस्यीय टोली घोषणा गरेको हो।

औँलाको चोटका कारण जारी इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएका डेभन कोन्वे टोलीमा फर्किएका छन्। खेलाडीका रूपमा विलियम्सनको यो छैटौँ र कप्तानको रूपमा चौथो टी–२० विश्वकप हो।

न्यूजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टेडले जुनको पहिलो साताबाट शुरू हुने प्रतियोगितामा टोलीबीचको फरक अवस्थालाई ध्यानमा राखेर खेलाडी छनोट गरिएको बताए।

‘वेस्ट इन्डिजको अवस्था एकदम फरक र चुनौतीपूर्ण हुने छ। त्यसैले हामीले परिस्थितिअनुसार टोली छनोट गरेका छौँ,’ उनले भने।

सिनिअर खेलाडी आईपीएलमा व्यस्त रहेकाले न्यूजिल्यान्डले ‘ए’ टोली बनाएर पाकिस्तान भ्रमण गरेको थियो। माइकल ब्रेसवेलको कप्तानीमा टोलीले पाकिस्तानसँगको ५ खेलको शृंखला २–२ को बराबरीमा रोकेको छ। एक खेल वर्षाका कारण रद्द भएको थियो। यस्तो अवस्थामा अनुभवी खेलाडीको पुनरागमनसँगै यो टोली निकै बलियो देखिन्छ।

न्यूजिल्यान्डको टोली
केन विलियम्सन (कप्तान), फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कोन्वे, लोकी फर्ग्युसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउथी। 

कोन्वे र एलेनलाई ओपनिङको जिम्मेवारी दिन सकिन्छ। योसँगै विलियम्सन तेस्रो नम्बरमा र रचिन चौथो नम्बरमा ब्याटिङमा आउन सक्छन्। यता, डेरिल मिचेल र नीशम ठूला शटहरू प्रहार गर्न माहिर छन्।

ब्रेसवेल, स्यान्टनर र सोधीले स्पिनको जिम्मेवारी सम्हाल्ने छन्। साथै, तीव्रगति बलिङको जिम्मेवारी अनुभवी साउदी, हेनरी र फर्ग्युसनको हातमा हुनेछ। डेरिलले चौथो पेसरको भूमिका खेल्न सक्छन्। टोलीमा तीव्रगतिभन्दा स्पिनर बढी छनोट भएका छन्।

प्रतिक्रिया