काठमाडौँ- नेपाल र वेस्टइन्डिज ‘ए’ बिचको चौथो खेल आज हुँदै छ। नेपालले ५ टी–२० सिरिजको २ खेल हारेको छ भने १ खेल मात्र जितेको छ। खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ।
नेपालले बुधबार विश्वकप खेल्ने खेलाडीको नाम सार्वजनिक गरेको छ। आज खेल्ने ११ जना विश्वकप खेल्न छानिएका खेलाडी हुने छन्। विश्वकप खेल्ने ११ जना खेल्ने भएकाले आजको र अर्को खेललाई महत्वपूर्ण रुपमा हेरिएको छ।
पाँचवटा टी–२० खेलको शृङ्खला खेल्न हाल वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा छ। नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टोलीका अधिकांश खेलाडीले सिनियर टोलीबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।
जारी शृङ्खलामा पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो। तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो।
यसअघि तीन खेलमा विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली टुङ्गो लगाउन नेपालले परीक्षण मात्रै गरेको थियो। त्यसैले आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्न पाएको थिएन । तर आज नेपालले विश्वकप खेल्ने प्लेइङ ११ मैदान उतार्ने सम्भावना छ । विश्वकपमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्नुअघि नेपालको राम्रो परीक्षा हुनेछ।
वेस्ट इन्डिजविरुद्धको शृङ्खलामा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान रोहित पौडेल हुन्। उनले शृङ्खलाको पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए।
यसै वर्षको जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो मैत्रीपूर्ण अभ्यास खेल खेलिएको हो। वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो।
प्रतिक्रिया