काठमाडौँ। वर्षाको कारण खेल रद्द भएसँगै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौडबाट बाहिरिएको छ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा गुजरातको जित निकै महत्त्वपूर्ण थियो। तर, टसअघि नै वर्षा भइरहेको थियो, जुन नरोकिएपछि खेल रद्द गरिएको हो।
करिब १०: ४५ बजेतिर वर्षा कम भएपछि दुवै टोलीका कप्तान मैदानमा आएका थिए। दुवै टोलीले ५–५ ओभरको खेल खेल्ने अपेक्षा गरिएको थियो। तर, मैदान धेरै भिजेपछि खेल रद्द गरिएको हो।
यो बराबरीसँगै गुजरात प्लेअफको दौडबाट बाहिरिएको छ। गुजरातले १३ खेलमा ५ जित, ७ हार र १ बराबरीसहित १० अंक जोडेको छ। यदि गुजरातले कोलकातापछि आगामी खेलमा सनराइजर्स हैदरावादलाई हराएको भए तालिकामा १४ अंक हुने थियो।
चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउ सुपर जायन्ट्ले आगामी खेलमा हार बेहोरेको भए गुजरातको प्लेअफमा पुग्ने सम्भावना जीवित हुने थियो। तर, त्यसका लागि गुजरातलाई राम्रो रनरेट चाहिएको थियो। तर, गुजरात भने आफ्नो तेस्रो सिजनमा प्लेअफमा पुग्न सकेन।
हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातले पहिलो सिजन उपाधि जितेको थियो। दोस्रो सिजनमा फाइनलमा स्थान बनाएको गुजरात चेन्नईसँग पराजित हुँदै उपविजेतामा खुम्चिएको थियो। हार्दिक मुम्बई इन्डियन्समा फर्किएपछि शुभमन गिललाई तेस्रो सिजनमा कप्तानी जिम्मेवारी दिइएको थियो। शुभमनको ब्याट चले पनि उनले टिमलाई प्लेअफमा पुर्याउन सकेनन्।
प्रतिक्रिया