Pura Samachar

कोलकत्ता नाईट राइडर्स आईपिएलको फाइनलमा

प्रकाशित: May 22, 2024
पूरा समाचार

कोलकत्ता नाईट राइडर्स आईपिएलको फाइनलमा

  काठमाडौं । कोलकत्ता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आईपिएल) को फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा हैदराबाद विरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकत्ता तेस्रो उपाधि नजिक पुगेको हो ।

हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकत्ताले १३.४ ओभरमै २ विकेट मात्र गुमाएर भेटायो । कोलकत्ताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको अविजित इनिङ खेले । यस्तै वेंकटेश ऐयरले २८ बलमा ५ चौका र ४ छक्का नै प्रहार गर्दै ५१ रनमा अविजित रहे ।

ओपनरद्वय रहमनुल्लाह गुरबाज र सुनिल नरिनले क्रमसः २३ र २१ रन बनाएका थिए ।

हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान १-१ विकेट लिए ।

त्यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेको हैदराबाद १९.३ ओभरमा १५९ रनमा समेटियो । हैदराबादका लागि राहुल त्रिपाठीले ३५ बलमा सर्वाधिक ५५ रन जोडे । हेनरिच क्लासनले २१ बलमा ३२ रन जोड्दा कमिन्सले २४ बलमा ३० रन बनाए ।

कोलकत्ताका लागि मिचेल स्टार्कले ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट लिए । वैभव अरोरा, हर्षित राना, सुनिल नरिन र आन्द्रे रसेलले समान १-१ विकेट लिए ।

कोलकत्ताले अब आउँदो आईतवार उपाधिका लागि खेल्नेछ । हैदराबादले भने फाइनल पुग्ने दोस्रो मौका पाउनेछ । सो अवसर तेस्रो र चौथो स्थान हासिल गरेका राजस्थान र बेंगलूरु बीचको एलिमिनेटर खेलको विजेता विरुद्ध हुनेछ । एलिमिनेटर खेल भोलि हुँदैछ । दोस्रो क्वालिफायर भने आउँदो शुक्रवार चेन्नईमा हुनेछ ।

प्रतिक्रिया