काठमाडौं । टि–२० विश्वकपको तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा रोमाञ्चक जित हासिल गरेको छ । ह्युस्टन स्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेन्स विरुद्ध भएको खेलमा नेपाल ६ रनले विजयी भएको हो ।
पहिले ब्याटिङ गरी १४६ रन बनाएको नेपालले हरिकेन्सले १४० रनमा रोक्यो । हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन मात्रै बनाउन सक्यो ।
अन्तिम ६ बलमा हरिकेन्सलाई जितको लागि १० रन चाहिएको थियो । तीव्र गतिका बलर करण केसीले अन्तिम ओभरमा ३ रन खर्चेर एक विकेट लिंदै नेपाललाई जित दिलाए । त्यसअघि १९ औं ओभरमा अभिनाश बोहराले १४ रन खर्चेका थिए ।
हरिकेन्सका लाहिरु मिलान्थाले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए । अली शेख २३, स्मित पटेल १९ आर्कषित गोमेल १८ रनमा आउट भए ।
नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले एक–एक विकेट लिए ।
त्यसअघि प्रेरी भ्यू कम्पलेक्स ह्युस्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । तेस्रो नम्बरका ब्याटर अनिल कुमार साहले ३८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।
नेपालको सुरुवात भने राम्रो हुन सकेन् । ओपनर कुशल भुर्तेल ६ बलमा १ रन तथा आसिफ शेख ६ बलमा ४ रनमा आउट भएका थिए । दुवै ओपनर क्याच आउट हुँदा नेपाल २.२ ओभरमा ९-२ को अवस्थामा थियो । तर अनिल र रोहित पौडेलले तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरे। रोहित १८ बलमा २ चौका प्रहार गर्दै २३ रन बनाएर आउट भए ।
चौथो विकेटका लागि अनिल र कुशल मल्लले ३० रनको साझेदारी गरे। गुलशन झा १८ बलमा ३ चौकासहित २० रनमा आउट भए । सन्दीप जोरा १५ बलमा ३ चौकासहित २१ रनमा आउट भए । करण केसी ५ बलमा १ छक्कासहित १० रनमा नट आउट रहे । कुशल मल्लले १२ रन बनाए ।
ह्युस्टन हरिकेन्सका उस्मान शिनवारीले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । इमरान खान जुनियरले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जोश ट्रम्प, अली शेख र जिया जाहजादले एकरएक विकेट लिए ।नेपालले दोस्रो खेल शनिबार हरिकेन्ससँग नै खेल्नेछ ।
प्रतिक्रिया