काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपअघिको वार्मअप खेलमा अस्ट्रेलियाले नामिबियाविरुद्ध सात विकेटको सहज जित निकालेको छ । मंगलबार पोर्ट अफ स्पेनमा भएको खेलमा नामिबियाले प्रस्तुत गरेको १२० रनको लक्ष्य अस्ट्रेलियाले १० ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।
अस्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले ५४ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । टिम डेविडले २३, कप्तान मिचेल मार्सले १८ र म्याथ्यु वेडले १२ रन बनाए ।
नामिबियाका बर्नार्ड स्कल्जले दुई विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा आएको नामिबियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११९ रनको योगफल खडा गरेको थियो ।
नामिबियाका जेन ग्रिनले सर्वाधिक ३८ रन बनाए । मलान क्रुगरले १८, कप्तान गेरार्ड इरास्मसले १५, निकालेस ड्याभिनले १४ र जेपी कोट्जेले १३ रन बनाए ।
अस्ट्रेलियाका एडम जाम्पाले तीन विकेट लिए । जस हेजलवुडले दुई विकेट लिँदा नाथन इल्स र टिम डेविडले समान एक विकेट लिए ।
मंगलबार नै हुने तय भएको अर्को वार्मअफ खेल भने वर्षाका कारण रद्द भएकाे छ । अमेरिका र बंगलादेशबीचको खेल वर्षाका कारण रद्द भएको हो ।
प्रतिक्रिया