काठमाडौं। आइसिसी ट्वान्टी-२० विश्वकपमा शनिबार अस्ट्रेलियाले समूह बी को दोस्रो खेलमा इङ्ल्यान्डको सामना गर्ने क्रममा विस्फोटक खेल देखिनेछ।
यो खेल नेपाली समय अनुसार राति १०:४५ बजे बार्बाडोसको ब्रिजटाउन क्रिकेट स्टेडियममा खेलिनेछ। यी दुई टोलीबीच हालसम्म २३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्।
जसमध्ये अस्ट्रेलियाले १० र इङ्ल्यान्डले ११ खेल जितेको छ। दुई खेल भने नतिजाविहीन भएको छ। हालको प्रतियोगितामा अस्ट्रेलियाले ओमानविरुद्ध ३९ रनको सहज जित हात पारेको थियो। इङ्ल्यान्डको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो।
फेब्रुअरीमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई २–१ र न्युजिल्यान्डलाई ३–० ले हराएको थियो। यसपछि टोलीका अधिकांश खेलाडी आईपीएलमा व्यस्त भए।
ट्वान्टी–२० विश्वकपको अभ्यास खेलमा अस्ट्रेलियाले नामिबियासँग जित हात पारेको छ भने वेस्ट इन्डिजसँग पराजित भएको छ। अस्ट्रेलिया दुवै अभ्यास खेलमा मुख्य ६ खेलाडीविना नै खेलेको थियो।
विश्वकपअघि मे महिनाको अन्तिममा इङ्ल्यान्डले पाकिस्तानविरुद्धको चार खेलको ट्वान्टी-२० शृंखला २-१ ले जितेको थियो। इङ्ल्यान्डका पछिल्ला तीन खेलमध्ये दुई खेल वर्षाका कारण रद्द भएका छन्।
प्रतिक्रिया