Pura Samachar

दीया मास्के भन्छिन्ः रंगमञ्च, सिनेमासँगै सबैजसो पेसामा आएको संकटले चिन्तित

प्रकाशित: June 11, 2020

दीया मास्के भन्छिन्ः रंगमञ्च, सिनेमासँगै सबैजसो पेसामा आएको संकटले चिन्तित

लकडाउनका सुरूका दिन धेरैले सामाजिक सञ्जाललाई मन बहलाउने माध्यम बनाए। पुराना फोटो र भिडिओ सेयर गरेर आफ्ना पुराना कामको सम्झना गर्नु महामारीको त्रासबाट एकछिन भए पनि टाढा हुने बहाना बन्यो। कलाकार दीया मास्के पनि यसबाट अलग रहिनन्।

आफूले अभिनय गरेका पुराना चर्चित म्युजिक भिडिओ र फिल्मका ‘क्लिप’ सामाजिक सञ्जालमा सेयर गर्नु उनको दिनचर्याकै हिस्सा बन्यो। उनी यो समयमा ‘सिरानीले भिजायो कि’, ‘भिज्यो सिरानी रातमा’ जस्ता म्युजिक भिडिओ सेयर गर्दै रमाइला प्रतिक्रियाहरूमा रमाइन्।

नृत्यबाट कला क्षेत्रमा प्रवेश गरेकी उनी ‘सुनगाभा’ फिल्मको ‘चर्या नृत्य’ सेयर गरेर नोस्टाल्जिक बनिन्। हाल पोखरामा भएकी दीया भन्छिन्, ‘महामारीको त्रासबीच मानसिक रूपमा बलियो रहन यस्तै साना कुराले पनि ठूलो अर्थ राख्ने रहेछ।’

उनी काठमाडौंबाट पोखरा बसाइँ सरेको करिब आठ महिना भयो। दीया र उनका श्रीमान रंगकर्मी अनुप बरालसँगै ‘एक्टर्स स्टुडियो’ले पनि बसाइँ सर्‍यो। पोखरामै रंगमञ्चको गतिविधि बढाउने दीर्घकालीन योजना बुनेका उनीहरू लकडाउनअघि ‘एक्टर्स स्टुडियो’ मार्फत् गत जनवरीदेखि ‘मास्टर’ कक्षा सञ्चालन गरिरहेका थिए। २०६३ असारमा अनुप बरालद्वारा स्थापित एक्टर्स स्टुडियोले रंगमञ्चसम्बन्धी नियमित कक्षा सञ्चालन गरिरहेको छ।

एक्टर्स स्टुडियोकी पहिलो ब्याचकी विद्यार्थी दीया हाल स्टुडियोकी कार्यकारी निर्देशक हुन्। उनी ‘फिजिकल मुभमेन्ट फर एक्टर’ विधाअन्तर्गत कक्षा चलाउँछिन्। एक्टर्स स्टुडियोमा उनीहरूसँगै लेखक, संगीतकार, फेसन डिजाइनर, कलाकार एवम् मानवशास्त्रीहरू जोडिएका छन्।

पोखरामा नयाँ कक्षा सुरू गरेको केही समयमै कोरोना महामारीबाट प्रभावित भएकाले अरूको जस्तै दीयाको दिनचर्या पनि प्रभावित हुने नै भयो। उनी भन्छिन्, ‘लकडाउन केही दिनका लागि मात्रै हो भनेर सुरूका दिनमा मनोबल सकारात्मक थियो। तर अब त धैर्य टुट्न लागिसक्यो।’

केही समयदेखि एक्टर्स स्टुडियोले भर्चुअल माध्यमबाट कविता, कथा, पटकथा, फिल्म बारे छलफल गरिरहेको छ। प्रशिक्षार्थीसँग सम्पर्कमा बसे पनि यसका धेरै सीमा भएको उनी बताउँछिन्।

लकडाउनले धेरै मानिसलाई केही नयाँ कुरा वा काम सिक्ने फुर्सद दिएका बेला दीयाले पनि यो समयमा केही नयाँ अनुभव सँगालेकी छन्।

दीया मास्के। तस्बिर स्रोतः दीयाको फेसबुक

नयाँ काम सिक्ने उनको रहरले नै होला उनको कला यात्रा टेलिश्रृंखला, फिल्म र नाटक हुँदै ‘रियालिटी शो’ सम्म पुग्यो। पछिल्लो समय उनी नेपाली रियालिटी शो ‘हिमालय रोडिज’ बाट युवा पुस्तामाझ चिनिएकी छन्। यसमा दीया कडा र साहसी टिम लिडरको भूमिकामा छन्। कार्यक्रमको तेस्रो संस्करण चल्दैछ।

काठमाडौंको सहरी परिवेशमा हुर्केर प्लस टु सक्दा नसक्दैदेखि कला क्षेत्रमा लागेकी उनले घरभित्रको काम खासै गरेकी थिइनन्। लकडाउन बेला भने उनले भातभान्साको कामदेखि बारी गोडमेल गर्नेसम्म धेरै समय बिताएकी छन्।

उनी हाँस्दै भन्छिन्, ‘जुन काम पहिल्यै जान्नु पर्ने हो, त्यो अहिले बल्ल सिक्दैछु।’ बारी खनेर गोडमेल गरेकी उनले आफैंले फलाएको तरकारी पनि खाइसकेकी छन्। भन्छिन्, ‘माटोसँग नजिक हुँदा र बोट-बिरुवासँग घन्टौं बिताउँदा बेग्लै आनन्द आउने रहेछ।’

उनले घर-परिवार व्यवस्थापनमा धेरै समय खर्चिंदा आफैंलाई दिने समयमा भने कटौती भएको महशुस गरेकी छन्।

‘घरमा मुश्किलले समय मिल्ने रहेछ,’ उनी भन्छिन्, ‘दिनमा जम्मा ३-४ घन्टा आफ्ना लागि समय छुट्याएकी छु।’

यही समयमा उनी कसरत र नाटक रिहर्सल पनि दैनिक गरिरहेकी छन्। धेरै विदेशी नाटक पढ्ने भएकाले नेपालीमा अनुवाद गरेर अभ्यास गर्ने उनी बताउँछिन्। नाटक पढेर त्यसलाई ‍मञ्चन गरेको परिकल्पनासहित रिहर्सल गर्छिन्। कुनै पनि क्षेत्रका कलाकारले आफ्नो अभ्यास जारी राख्नुपर्ने दीयाको धारणा छ।

त्यसैले जतिसुकै व्यस्त भए पनि नाच्ने समय पनि निकालिरहेकी छन्।

आफूलाई अन्तर्मुखी मान्ने दीयालाई घरमा समय बिताउनु परेको कुराले पिरोलेको छैन। तर रंगमञ्च, सिनेमासँगै सबैजसो पेसामा आएको संकटले चिन्तित बनाएको छ।

‘व्यक्तिगत रूपमा हामीलाई अतीतमा फर्कने र भविष्यका लागि सोच्ने समय मिलेको छ। व्यक्तिगत विकासका लागि यो सकारात्मक कुरा हो,’ उनी भन्छिन्, ‘तर हालको संकट मजदुरदेखि कलाकारसम्म सबैका लागि चुनौतीपूर्ण छ। गाँस-बास-कपासको समस्या भएका बेला कला कसरी र कतातिर मोडिने हो, कसरी पुनः स्थापित गर्ने हो, चुनौतीपूर्ण छ। यस्तो परिस्थितिमा धेरै लामो भावी योजना बनाउन पनि नसकिने रहेछ।’

संकटको कुरा गरे पनि उनी आशावादी सुनिन्छिन्, ‘पेसा नै यही छ भने जोकोहीले कुनै न कुनै उपाय खोज्नु परिहाल्छ।’

लकडाउनको असर हरेक क्षेत्रमा देखिरहँदा सबैले वैकल्पिक बाटो खोज्दैछन्। केही निर्देशक र कलाकारले छोटा फिल्म बनाइरहेका छन्। दीयाले पनि एउटा छोटो फिल्म तयार पारेर नर्वे पठाएको बताइन्।

‘लकडाउनले थुप्रै काम अड्कायो। स्थिति सामान्य भएपछिका काम बाँकी छ। आफैंसँग प्रतिस्पर्धा गर्न पनि बाकीँ नै छ,’ दीया भन्छिन्, ‘त्यसैले आत्तिनुको साटो मानसिक हिसाबमा तयार हुनुपर्‍यो। सकारात्मक रहनु नै अहिलेको आवश्यकता हो भन्ने लाग्छ।’

नाट्य एवम् फिल्म क्षेत्रका काम आगामी दिनमा नयाँ ढंगबाट सुरू हुनेमा उनी आशावादी सुनिन्छिन्। भर्चुअल माध्यम बढी प्रयोग हुनसक्ने र सामाजिक दुरीका नियम कायम रहनसक्ने उनको अड्कल छ। त्यस्तै नाटकका विषयवस्तु नै फेरिन सक्ने बताउँछिन्।

‘साँघुरो’, ‘कागबेनी’, ‘सुनगाभा’ लगायत प्रशंसित फिल्ममा अभिनय गरेकी दीयालाई ‘थाङ्ला’, ‘शकुन्तलाको औंठी’, ‘थर्टी डेज इन सेप्टेम्बर’ जस्ता आफ्नै नाटक मन पर्छ। अनुप बराल निर्देशित ‘दोख’ उनले पर्खिरहेको महत्वपूर्ण फिल्म हो। सार्वजनिक हुन त्यसै ढिलो भएको यो फिल्म लकडाउनले अझै पर धकेलिएको छ।

प्रतिक्रिया