काठमाडौं । युरो कपमा आज राति तीन खेल हुँदै छन् । आज हुने पहिलो खेलमा क्रोएसियाले अल्बानियाको सामना गर्नेछ ।
आफ्नो पहिलो खेलमा नै पराजित भएपछि क्रोएसिया आज पहिलो जित दर्ता गर्ने योजनामा छ । क्रोएसियाले पहिलो खेलमा स्पेनसँग तीन-शून्यको हार बेहोरेको थियो । मिडफिल्डर लुका मोड्रिचको टिमलाई नकआउट पुग्ने टोलीको रूपमा हेरिएको छ । त्यसैले आज उसले सुधारिएको प्रदर्शन गर्ने अनुमान गरिएको छ ।
यस्तै आज राति पौने १० बजे हुने खेलमा जर्मनीले हंगेरीको सामना गर्नेछ । यी दुवै टोली युरोपका निकै बलिया हुन् । स्विट्जरल्यान्डसमेत रहेको यो समूह कठिन पनि छ । आजको खेलमा पनि जित दर्ता गरेर जर्मनी नकआउट चरणको नजिक पुग्ने योजनामा छ।
यी दुई टिम सन् १९५४ को विश्वकप फाइनलमा पनि खेलेका थिए । युरो कपमा भने चार वर्षअघि यी दुई टोलीले २-२ को बराबरी खेलेका थिए । त्यो बराबरीको कारण जर्मनी समूह विजेता बन्न असफल भएको थियो ।
यी दुई टिमबीच विश्वकप र युरो कपमा तीन खेल भएका छन् । तीन खेलमा यी दुई टिमबीच २० गोल भएका थिए । आजको खेल पनि हाइस्कोरिङ हुने अनुमान गर्न सकिन्छ । पहिलो खेलमा स्कटल्यान्डविरुद्ध ५-१ को जितपछि जर्मनी आज त्यो लयलाई कायम राख्ने योजनामा छ ।
त्यसैगरी आज राति नै पौने १ बजे हुने खेलमा समूह ए कै स्कटल्यान्डले स्विट्जरल्यान्डको सामना गर्नेछ । युरो कपमा यी दुई टोली २८ वर्षपछि भेट भएका हुन् । पहिलो खेलमा इतिहासमै फराकिलो अन्तरले पराजित स्कटल्यान्डलाई आज जितको विकल्प छैन । स्विट्जरल्यान्डले हंगेरीलाई सहजै हराइसकेको कारण ऊ अघिल्लो चरणमा पुग्ने योजनासहित मैदान उत्रने छ ।
यो समूहमा जर्मनी र स्विट्जरल्यान्डको समान तीन तीन अंक छ भने हंगेरी र स्कटल्यान्ड अंकविहीन छन् ।
प्रतिक्रिया