Pura Samachar

भारतकाे टी–२० विश्वकपमा आफ्नो अपराजित यात्रा कायमै

प्रकाशित: June 21, 2024
पूरा समाचार

भारतकाे टी–२० विश्वकपमा आफ्नो अपराजित यात्रा कायमै

अमेरिका । भारतले टी–२० विश्वकपमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । जसप्रित बुमराहको उत्कृष्ट बलिङ र सूर्यकुमार यादवको अर्धशतकको मद्दतमा भारतले सुपर एटको आफ्नो पहिलो अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमात्र बनाउन सक्यो ।

योसँगै भारतले  टी–२० मा भारतले अफगानिस्तानविरुद्धको शतप्रतिशत रेकर्ड पनि कायम राख्न सफल भएको छ ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । २० बलमा उनले २ चौका र १ छक्का प्रहार गरे ।

नजिबुल्लाह जदरानले १७ बलमा १९ रन जोडे भने गुलबदिन नाइबले २१ बलमा १७ रन बनाए । मोहम्मद नाबीले १४ रन तथा रहमनुल्लाह गुरबाजले ११ रनको योगदान दिए ।

भारतका लागि जसप्रित बुमराहले ४ ओभरमा   १ मेडन राखेर मात्र ७ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले पनि ३ विकेट लिए । उनले ४ ओभरमा ३६ रन खर्चिए । कुल्दीप यादवले २ तथा रवीन्द्र जडेजाले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन । कप्तान रोहित शर्मा तेस्रो ओभरमा ८ रन बनाएर आउट भए ।

त्यसपछि ऋषभ पन्त र विराट कोहलीले २५ बलमा ४३ रनको साझेदारी गर्दै  अगाडि बढाए । कोहलीले २४ बलमा २४ रन बनाए भने  पन्तले ११ बलमा ४ चौका हिर्काउँदै २० रन जोडे ।

सूर्यकुमार यादवले विस्फोटक ब्याटिङ  गर्दै २८ बलमा ५३ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे । सूर्यकुमारले हार्दिक पाण्ड्यासँग मिलेर ३७ बलमा ६० रन जोडे । हार्दिकले २४ बलमा ३२ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हाने ।

अक्षर पटेलले १२ रन बनाए भने शिवम दुवेले ७ बलमा १० रन जोडे । अफगानिस्तानका लागि फजल हक फारुकी र रासिद खानले ३–३ विकेट लिए ।

अस्ट्रेलिया र बंगलादेश समेत सामेल सुपर ८ अन्तर्गत समूह १ को यो पहिलो खेल हाे ।

प्रतिक्रिया