डा. डीआर उपाध्याय
काठमाडौं,
पुस २० ।
अहिले मुलुकको राजनीति त्यति सहज ढङ्गले अघि बढन सकेको अवस्था छैन । मुलुक पुरै अन्योलमा छ । अब के हुन्छ कुनै टुङ्गो छैन । जनता निराश छन् । यो घटनाक्रमले छिमेकीको चासो बढेर गएको छ । प्रतिनिधिसभा विघटनको घटनालाई स्वदेशीले मात्रै नभएर दक्षिणी र उत्तरी छिमेकीले समेत बडो चासोको रुपमा हेरे्का छन् । आन्तरिक विवादमा विदेशीको अस्वाभाविक चासोले मुलुक भने प्रयोगशालाजस्तै बनेको छ । यो नै समस्या हो ।
नेपालका राजनीतिक दल र तिनका नेताहरू ठिक ढङ्गले अघि बढन सकेनन् । नेताहरू ढाँटने, छल्ने प्रबृतिका धेरै भए । जसले गर्दा समस्या बढेर गएको छ । राजनीतिक दल र तिनका नेताहरू नसुध्रिएसम्म विदेशीको चलखेल अन्त्य गर्न कठिन छ । मुलुकको हरेक राजनीतिक परिवर्तनमा भारतको प्रत्यक्ष भूमिका रहेको थियो । नेपालको विकास तथा परिवर्तनसँग सम्बन्धित विषयमा निर्णय लिन नेपालका राजनीतिज्ञ आफैँ सक्षम भइसक्दा पनि विदेशीको सहारा खोज्ने प्रवृत्तिका कारण अहिलेको अवस्था आएको हो । यो कुरा बुझन सवैले जरुरी छ ।
छिमेकीलाई मात्रै दोष दिएर नेताहरू पन्छिन मिल्दैन । यो दोषका मुख्य भागीदार हाम्रै नेताहरू हुन् । छिमेकी रिझाउन नेताहरू सिपालु छन् । सत्तामा पुग्नका लागि जे पनि गर्न तयार छन् । सत्तामा टिकिरहन नेपाली राजनीतिज्ञले कोशिस गरिरहेका हुन्छन । मुलुकमा ठूलाठूला आन्दोलन नेपालीकै बलमा सम्पन्न भएका थिए र वर्षौंदेखि जरा गाडेर बसेको राजतन्त्र बिदा गरेर गणतन्त्र ल्याउने अभियानको नेतृत्व नेपालीले नै गरेका थिए । यो यथार्थ कसैले पनि बिर्सनु हुँदैन । अब पनि विदेशीको बलमा सत्ता टिकाइराख्न सकिन्छ भन्ने भ्रम सबै दलका नेताले त्याग्नुपर्छ ।
नेपालको राजनीतिमा दक्षिणी छिमेकीको चासो अलिबढी हुनेगर्छ । पछिल्ला दिनमा अर्को नजिकको छिमेकी चीनको चासो पनि उत्तिकै बढेर गएको छ । दुबै मुलुकका प्रतिनिधिको सक्रियतालाई हेर्दा नेपालको राजनीति अन्योलमा छ । पछिल्लो समय नेपालको राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुऔं यचौको नेतृत्वमा चार सदस्यीय टोली नेपालमा आयो । टोलीले राष्ट्रपति, प्रधानमन्त्रीसहित मुख्य दलका जिम्मेवार नेतालाई भेटेको छ । यो भेटको मुख्य उद्देश्य भनेको औपचारिक रूपमा फुटको घोषणा हुन मात्र बाँकी रहेको नेकपालाई जोड्न सकिन्छ कि भन्ने नै हो । विदेशीको सहारामा टिकेको सत्ताले स्वदेशको हित गर्दैन । नेपालको राजनीतिमा विदेशीको अनावश्यक हस्तक्षेप हुने क्रम अझै रोकिएको छैन । नेपाली राजनीतिमा भारत, चीन, अमेरिकालगायतका मुलुकको चासो सधैं रहिरहेको छ ।
प्रतिक्रिया