काठमाडौं। अफगानिस्तान आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार बिहान सम्पन्न खेलमा बंगलादेशलाई डिएलएस पद्धतिमा आठ रनले पराजित गर्दै अफगानिस्तान सुपर ‘एट’ को समूह १ को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो।
अफगानिस्तानले दुई खेलबाट चार अंक जोड्यो। पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको अफगानिस्तानले त्यसपछिका दुई खेलमा पुनरागमन गरेको हो।
दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले सेमिफाइनल सम्भावना बलियो बनाएको थियो। योसँगै अस्ट्रेलिया सुपर ‘एट’बाटै बाहिरिएको छ। अस्ट्रेलियाले दुई अंकमात्रै जोड्न सक्यो।
अफगानिस्तानले ११६ रनको लक्ष्य दिएको थियो। तर, वर्षाले खेल प्रभावित पारेपछि बंगलादेशले १९ ओभरमा ११४ रनको नयाँ लक्ष्य पाएको थियो। तर, बंगलादेशले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्रै बनाउन सक्यो।
बंगलादेशका ओपनर लिटनकुमार दासले अविजित रहँदै ५४ रन बनएपनि हार टार्न सकेनन्। ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे। तौहीद हृदोय १४ र सौम्य सरकार १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
अफगानिस्तानका नवीन उल हक र राशिद खानले समान चार विकेट लिए। फजलहक फारुकी र गुलबदीन नइबको नाममा समान एक विकेट रह्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११५ रन बनाएको थियो। अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए। ५५ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे।
इब्राहिम जदरान १८ र अजमतउल्लाह ओमरजाई १० रनमा आउट हुँदा राशिद खान १९ र करिब जनत सात रनमा अविजित रहे। बंगलादेशका रिशाद हुसैनले सर्वाधिक तीन विकेट लिए। तस्किन अहमद र मुस्तफिजुर रहमानको नाममा समान एक विकेट रह्यो।
प्रतिक्रिया