काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि आज (शनिबार)भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् । दुई देशबीचको फाइनल भिडन्त राति सवा आठ बजे सुरु हुनेछ । दक्षिण अफ्रिकाले अफगानिस्तान र भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई हराएर फाइनलमा स्थान पक्का गरेका हुन् । डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई बिहीबार राति ७८ रनले हराउँदै भारत उपाधिनजिक पुगेको हो । यसअघि बिहीबार बिहान दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको थियो ।
दक्षिण अफ्रिका पहिलोपटक फाइनल पुगेको हो भने भारत तेस्रोपटक उपाधि भिडन्त गर्न लागेको हो । भारतले सन् २०१३ पछि आइसिसी ट्रफी जित्न सकेको छैन । सन् २००७ मा भारतले पहिलोपटक टी-२० विश्वकपको उपाधि जितेको थियो । सन् २०१४ मा भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराएको थियो तर, फाइनलमा श्रीलंकासँग पराजित भयो । सन् २०१६ मा भारत घरेलु मैदानमा भएको प्रतियोगितामा नकआउट चरणमा पुगेको थियो तर, सेमिफाइनलमा वेष्ट इण्डिजसँग पराजित भयो । सन् २०२२ मा टोली अन्तिम पटक नकआउटमा पुगेको थियो तर, इंग्ल्याण्डसँग १० विकेटले पराजित भएको थियो । त्यसअघि सन् २००९, २०१०, २०१२ र २०२१ मा टोलीले समूह चरण पनि पार गर्न सकेन ।
भारतले पछिल्लोपटक सन् २०११ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । २०१३ मा घरेलु मैदानमा भएको फाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै भारतले च्याम्पियन्स ट्रफी कब्जा गरेको थियो । पछिल्लो ११ वर्षमा भारतले जितेको यो नै अन्तिम आईसिसी ट्रफी हो ।
यता, आइसिसीले आयोजना गर्ने क्रिकेटका तीनवटै प्रारूपका विश्वकपमा दक्षिण अफ्रिका हालसम्म फाइनल पुग्न सकेको थिएन । टेष्ट, एक दिवसीय र ट्वान्टी ट्वान्टीको विश्वकपमा दक्षिण अफ्रिका उपाधिनजिक पुगेको यो पहिलोपटक हो ।
अन्तर्राष्ट्रिय क्रिकेटको प्रतिबन्ध हटेपछि १९९१ बाट फेरि क्रिकेट खेल्न थालेको अफ्रिका हरेक विश्वकपमा प्रतियोगिता सुरु हुनुअगाडि बलियो टिम हुने र प्रतियोगितामा सेमिफाइनलभन्दा अगाडि नबढ्ने हुन्छ । महत्वपूर्ण समयमा हार्ने भएकाले दक्षिण अफ्रिकी टिमलाई चोकर पनि भनिन्छ । यसपालि फाइनलसम्म पुगेर चोकरको ट्याग हटाउन सफल भएको छ । तर, पूरै हटाउन भने बाँकी छ । पहिलोपटक कुनै विश्वकप जित्ने ढोकामा पुगेको दक्षिण अफ्रिकाको क्रिकेट इतिहास निकै रोचक छ । १९औं शताब्दिमा क्रिकेट खेल्न थालेको उसले लामो समय अन्तर्राष्ट्रिय प्रतिबन्ध भोगेको छ भने टिममा खेलाडी छनोट हुँदा कोटा सिस्टम लागू गरिएको छ । अफ्रिकी टिममा खेलाडी कोटा प्रणालीबाट समावेश गरिन्छ । ११ जनामध्ये कम्तीमा ६ जना अश्वेत हुनैपर्ने नियम छ । त्यसमध्ये पनि दुईजना अफ्रिकन नै हुनुपनुपर्छ ।
९० को दशकमा सबैभन्दा धेरै ओडीआई जितेको दक्षिण अफ्रिका १९९६ मा भारतमा भएको विश्वकपमा क्वार्टरफाइनलबाटै आउट भएको थियो । यसपछि चोकरको ट्याग लाग्न थाल्यो । दक्षिण अफ्रिकाको नाममा ओडीआईमा उच्च लक्ष्य सफलतापूर्वक पछ्याएको विश्वकीर्तिमान छ । उसले २००६ मा अष्ट्रेलियाले दिएको ४३५ रनको लक्ष्य पूरा गरेको थियो ।
प्रतिक्रिया