Pura Samachar

कोपा अमेरिका: क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडर र क्यानडाले भेनेजुएलासँग खेल्ने

प्रकाशित: July 1, 2024
पूरा समाचार

कोपा अमेरिका: क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडर र क्यानडाले भेनेजुएलासँग खेल्ने

कोपा अमेरिका फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई गोलरहित बराबरीमा रोक्दै इक्वेडरले क्वाटरफाइनलमा स्थान बनाएको छ। सोमबार बिहान सम्पन्न खेलसँगै समूह ‘बी’ बाट उपविजेता बन्दै इक्वेडरले अन्तिम आठ पक्का गर्‍याे। यो समूहमा क्यानडा विजेताका रूपमा क्वाटरफाइनल प्रवेश गरिसकेको छ।

खेलअवधिभर दबाब बनाएको मेक्सीकोले खेलको अन्तिम समयमा पेनाल्टीको मौका पाएको थियो। तर भिएआरले उक्त पेनाल्टीलाई मान्यता नदिँदा सम्भावित जितबाट मेक्सिको विमुख हुँदै प्रतियोगिताबाट बाहिरियो।

खेलमा अघिल्लो चरण प्रवेशका लागि मेक्सिकोलाई इक्वेडरलाई हराउनै पर्ने चुनौती रहेको थियो। तर बल पकडका बाबजुत पाएका सीमित मौकामा मेक्सिको चुक्दा इक्वेडर समान ४ अंक भएपनि गोल अन्तरमा अघि रहँदै क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे।

योसँगै कोपा अमेरिकाको क्वाटरफाइनलमा भिड्ने दुई खेलको तय भएको छ। अर्जेन्टिनाले इक्वेडर र क्यानडाले भेनेजुएलासँग खेल्ने पक्का हुँदा बाँकी चार टिमको तय हुन बाँकी छ।

अब समूह ‘सी’ र ‘डी’ बाट क्वाटरफाइनल पुग्ने टिमको तय हुनेछ।

प्रतिक्रिया