काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन सेयर बजारमा उछाल आएको छ । आज सेयर बजारमा ३.१३ प्रतिशतको उछाल देखिएको छ ।
मंगलबार सेयर बजारले करीब २ वर्षपछि २३०० अंक नाघेको छ । आज नेप्से परिसूचक ७०.१८ अंकले २३१०.५९ बिन्दुमा पुगेको छ ।
कारोबारमा पनि उछाल आएको छ । यस दिन ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो ।
कारोबार अवधिभर ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच भयो । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ कम्पनीको घट्यो ।
यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो । त्यस्तै, बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशतले बढेको छ ।
म्युचुअल फण्ड समूह भने ०.४२ प्रतिशतले घटेको छ ।
यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावर, सिकलेस हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, रिडी र अरुणभ्याली हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । इङवा हाइड्रोपावरको र अपी पावर, सिक्लेस हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, रिडी हाइड्रोपावर अरुण हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
सेयर बजारमा उछाल आउँदा पनि आत्मनिर्भर लघुवित्त, गणपति हाइड्रोपावर, जानकी फाइनान्स, कुथेली बुखरी हाइड्रोपावर, मान्डु हाइड्रोपावर, समाज लघुवित्त, सृजनशील लघुवित्त र युनिलिभर नेपालको सेयर मूल्य भने घटेको छ ।
आज ङादी ग्रुप पावरको सर्वाधिक २१ करोड ७७ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया