Pura Samachar

एसीसी महिला एसिया कपमा भारतसँग पराजित

प्रकाशित: July 24, 2024
पूरा समाचार

एसीसी महिला एसिया कपमा भारतसँग पराजित

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कपमा भारतसँग पराजित हुँदै नेपाल यस संस्करणको एसिया कपबाट बाहिरिएको छ । डम्बुलामा भएको खेलमा भारतले नेपालमाथि ८२ रनको जित हात पारेको हो ।

भारतले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्र बनाउँन सक्यो ।

नेपालका लागि ओपनर सिता राना मगरले २२ बलमा १८ तथा बिन्दु रावलले १९ बलमा अविजित १७ रन बनाईन् । ईनिङको पहिलो बलमा चौका प्रहार गर्दै नेपालले राम्रो सुरुआत गरे पनि नियमित रुपमा विकेट गुमाउँदा कम रनमा रोकिन पुग्यो ।

रुबिना क्षेत्रीले १६ बलमा १५ तथा कप्तान ईन्दु बर्माले १८ बलमा १४ रन बनाईन् ।

भारतका लागि दिप्ती शर्माले तीन तथा अरुणधती रेड्डी र राधा यादवले समान दुई दुई विकेट लिईन् । रेनुका सिंहले एक विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।

भारतका लागि ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्काको सहयोगमा ८१ रनको अर्धशतकीय ईनिङ खेलिन् । अर्की ओपनर दयालन हेमलथाले ४२ बलमा ४७ रनको योगदान गरिन् ।

पहिलो विकेटका लागि बर्मा र हेमलथाले पहिलो विकेटका लागि १ सय २२ रनको शतकीय साझेदारी गरे ।

चौधौं ओभरको अन्तिम बलमा नेपालकी सिता राना मगरले ओपनिङ साझेदारी तोडेकी थिईन् ।

जेमिमा रोड्रिगेजले १५ बलमा २८ रन बनाईन् ।

नेपालको लागि सिता राना मगरले दुई तथा कविता जोशीले एक विकेट लिईन् ।

जितसँगै भारत समूह ए बाट अपराजित रुपमा शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको छ । नेपाल एक खेलमा जितका साथ समूहको तेस्रो स्थानमा रहँदै यस संस्करणको प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया