Pura Samachar

संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

प्रकाशित: August 22, 2024
पूरा समाचार

संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभा र  राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् भवन नयाँबानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठकमा विषयगत समितिमा हेरफेरदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको जनाइएको छ ।

यसैगरी, सांसद तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै, धितोपत्र सम्बन्धी विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।

दिउँसो सवा १ बजे बैठक सुरु हुने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची संसद् सचिवालयले जनाएको छ ।

 

यस्तै, बैठकमा मन्त्री चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ दफावार छलफलका लागि प्रस्तुत गर्दै पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

प्रतिक्रिया