ललितपुर : दक्षिण एसियाली फुटबल महासंघ साफ यू-२० च्याम्पियनसिप फुटबलको समूह ‘ए’ को विजेता बनेको नेपालले सेमिफाइनलमा भारत, भुटान र माल्दिभ्समध्ये एक देशसँग प्रतिस्पर्धा गर्नेछ ।
श्रीलंकालाई १-० ले तथा बंगलादेशलाई २–१ ले पाखा लगाएर नेपाल समूह विजेता बनेको थियो। नेपाल ६ अंकसहित समूह विजेता भएर सेमिफाइनलमा पुगेको हो।
अघिल्लो खेलमा श्रीलंकालाई नै २-० ले पाखा लगाएको बंगलादेशले ३ अंकसहित अन्तिम चारमा स्थान पक्का गर्यो। दुवै खेलमा हार्दै श्रीलंका भने समूह चरणबाटै बाहिरियो ।
नेपालले अब समूह ‘बी’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ भने समूह ए को उपविजेता बंगलादेशले समूह बीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भारत र माल्दिभ्सबीचको समूह बीको अन्तिम खेलले नेपालको सेमिफाइनल प्रतिस्पर्धी टुङ्ग्याउने छ।
समूह बीमा अन्तिम खेल नसकिउञ्जेल भारत, भुटान र माल्दिभ्स ३ वटै देशको सेमिफाइनल सम्भावना छ। तर भारत र भुटान अलि सहज अवस्थामा रहँदा माल्दिभ्सलाई जित्नैपर्ने दबाब छ।
समूह बीमा भारत र भुटानले समान ३–३ अंक जोडेका छन्। भारतले १ खेलमा तथा भुटानले २ खेलमा ३ अंक जोडेका हुन्। माल्दिभ्सले १ खेलमा कुनै अंक जोडेको छैन।
शुक्रबारको खेलमा माल्दिभ्स २ गोलको अन्तरले विजयी भए ऊसँगै भुटान पनि सेमिफाइनलमा पुग्नेछ। यस्तोमा भुटान उपविजेता बन्दै नेपाल प्रतिस्पर्धी पाउनेछ।
शुक्रबार माल्दिभ्सले भारतलाई १-० ले हराएको खण्डमा भुटान समूह विजेता बन्नेछ। यस्तोमा भारत कम गोल खाएको आधारमा सेमिफाइनलमा पुग्नेछ। माल्दिभ्सले खेल जिते पनि अघिल्लो खेलमा २ गोल खाएकाले भारतलाई फाइदा पुग्नेछ। यसका कारण नेपालले भारत प्रतिस्पर्धी पाउनेछ ।
शुक्रबारको खेल बराबरी भए भुटान र भारत अन्तिमा चारमा पुग्नेछन्। भारत ४ अंकसहित समूह विजेता बन्दा भुटान नै उपविजेता बन्नेछ। नेपालले भुटान नै सेमिफाइनलका लागि प्रतिस्पर्धी पाउनेछ ।
तर शुक्रबार भारतले माल्दिभ्सलाई हराएको खण्डमा भुटानलाई फाइदा हुनेछ। यस्तो अवस्थामा भारत ६ अंकसहित पहिलो र भुटान ३ अंकसहित दोस्रो स्थानमा रहनेछन्। यो नतिजाले नेपालले फेरि उही भुटान नै प्रतिद्वन्द्वी पाउने छ।
प्रतिक्रिया