काठमाडौं । घरेलु टोली इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई दोस्रो टि ट्वान्टीमा ३ विकेटले पराजित गरेको छ । जितसँगै इङ्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेल अस्ट्रेलियाले २८ रनले जितेको थियो ।
इङ्ग्ल्यान्डको कार्टिफमा भएको खेलमा अस्ट्रेलियाले दिएको १ सय ९४ रनको लक्ष्य घरेलु टोलीले १९ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
घरेलु टोलीका लागि लियम लिविगंस्टोनले सर्वाधिक ८७ रन जोडे । प्लेयर अफ द म्याच भएका लिविगंस्टोनले ४७ बलको सामना गर्दै ६ चौका र ५ छक्का प्रहार गरे । जाकोब बेथहिलले २४ बलमा ४४, ओपनर तथा कप्तान फिल साल्टले २३ बलमा ३९ तथा अर्का ओपनर विल ज्याक्सले १२ रन जोडे ।
अस्ट्रेलियाका म्याथ्यु शर्टले ३ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । सन एबटले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
पाहुना टोलीका लागि ज्याक फ्रेजरले ३१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । विकेट किपर जोस इङ्ग्लिसले २६ बलमा ४२, ओपनर ट्राभिस हेडले १४ बलमा ३१, अर्का ओपनर म्याथ्यु शर्टले २४ बलमा २८ तथा आरोन हाडीले ९ बलमा नट आउट २० रन बनाए ।
घरेल टोलीका लागि लियम लिविगंस्टोन र बाइडोन कार्सले समान २ तथा आदिल राशिद र साम करनले समान १ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो तथा निर्णायक खेल आइतवार हुनेछ ।
प्रतिक्रिया