काठमाडौं। मेलम्ची खानेपानी विकास समितिले दसैं घटस्थापनाअघि नै मेलम्ची पानी काठमाडौं पठाउने भएको छ। खानेपानीमन्त्री प्रदीप यादवले दसैंअघि काठमाडौंमा मेलम्ची ल्याउन निर्देशन दिएसँगै पथान्तरणको सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
बर्खायाम सुरु भएसँगै धमिलो पानी आउन थालेपछि र बाढीले क्षति गर्ने आशंकामा काठमाडौं उपत्यकामा गत असार १० देखि मेलम्ची पानी ल्याउन बन्द गरिएको थियो। बाढीको सम्भावना कम भएसँगै काठमाडौंमा पानी वितरण गर्ने योजना अनुसार तयारी भइरहेको समितिले बताएको छ। समितिले ३ महिनापछि काठमाडौंमा पुनः मेलम्चीको पानी ल्याउन लागिएको हो।
कर्मचारीसहितको टोली मेलम्चीको पानी काठमाडौं पथान्तरणका लागि खटिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए। ‘मेलम्चीको पानी असोज दोस्रो साताभित्रै काठमाडौंँमा ल्याउने तयारीमा छौं। सोहीअनुसार काठमाडौंमा बिग्रिएका तथा भत्किएका खानेपानीका पाइप मर्मत गर्ने काम गरिरहेका छौं’, उनले भने।
प्रतिक्रिया