संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीबीच भेट हुँदैछ। नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आइतबार साँझका लागि भेटवार्ता तय भएको हो।
उनीहरूबीच स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ।
‘उहाँहरूबीच द्विपक्षीय भेट तय भएको छ,’ प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने। मोदी उक्त होटेलमा बसिरहेका छन्।
भेटका लागि नेपाली पक्षबाट धेरै अघिदेखि गृहकार्य भएको थियो। भारतीय पक्षबाट शुक्रबार सकारात्मक सन्देश पाएपछि भेटको वातावरण बनेको हो। ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलोपटक भेट हुन लागेको हो। यसअघि थाइल्यान्डमा तय भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच भेटवार्ता हुने भनिए पनि बैठक नै स्थगित भएको थियो।
प्रतिक्रिया