Pura Samachar

आजदेखि दशैं अवधिभर रात्रिकालीन उडान हुने

प्रकाशित: October 3, 2024
पूरा समाचार

आजदेखि दशैं अवधिभर रात्रिकालीन उडान हुने

काठमाडौं  । सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै दसैँको पहिलो दिन आज (घटस्थापना)देखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताउनुभयो । उहाँले चाडपर्वमा यात्रुलाई हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउनेगरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताउनुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, “बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णिमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरालगायत विमानस्थलमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छु ।” साथै उहाँले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान ४ः३० बजेदेखि राति अपरेशनको समयसम्म आवश्यकतानुसार उडान हुने उल्लेख गर्नुभयो ।

मनसुन लम्बियो

यसपालि मनसुन लम्बिएर दसैँसम्मै वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यसपटक मनसुन सरदर मितिभन्दा थप केही दिन पर धकेलिने बताउनुभयो ।

भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले भारतको उत्तरपूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पर्यटन व्यवसायी मर्कामा

पर्यटकीय सिजन सुरु भएसँगै बाढीपहिरोको विपत्तिले अरु सबै क्षेत्रजस्तै पर्यटन व्यवसायी मर्कामा परेका छन् । चाडपर्व सुरु भएकाले पदयात्रा, पर्वतारोहणलगायत गतिविधिमा रमाउने पर्यटकलाई गन्तव्यमा पुग्न समस्या भएकाले मनसुनजन्य विपद्का घटनाले पर्यटनमा समस्या सिर्जना गरेको होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले बताउनुभयो ।

पर्यटकलाई गन्तव्यमा पुग्न कठिन भइरहेकाले यसबाट पर्यटकीय पूर्वाधारमा लगानी गरेका व्यवसायी बढी मर्कामा पर्ने उहाँको भनाइ छ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले अहिलेको विपद्जन्य घटनाले पर्यटन व्यवसायीलाई झस्काएको बताउनुभयो ।

प्रतिक्रिया