–डा. डीआर उपाध्याय
आज समाजमा कसैप्रति कसैको विश्वास छैन । महिला घरेलु हिंसा तथा यौनजन्य अपराधका घटनाहरू समाजमा दिन प्रतिदिन घटेका छन् । यो हाम्रो समाजको लागि चुनौतीको विषय हो ।
यस्ता घटना घट्नुको मूल कारण समाजमा अशिक्षा, गरिबी र चेतनाको अभाव हो । समाजमा बलात्कारी र अपराधीहरू दिनप्रतिदिन बढ्दैछन् ।
यस्ता घटना हुनबाट जोगाउन समाजमा जनचेतना फैलाउने कार्यलाई प्रभावकारी बनाउन जरुरी छ । अहिलेको युग सञ्चार र प्रविधिको युग हो ।
यसको सही सदुपयोग गर्न सकेको खण्डमा धेरै फाइदा छन् तर यसको गलत दुरुपयोगको कारणले गर्दा समाजमा अपराध निम्ताएको छ ।

सामाजिक सञ्जाल र फेसबुकको गलत प्रयोगबाट समाजमा हत्या, हिंसा र बलात्कारका घटनाले प्रसय पाएको छ । आज केही मानिस चेतनाको अभावले पशुजस्तो व्यवाहार देखाउँछन् ।
हाम्रो समाजमा घरभित्रै बाबुले छोरीलाई , छोराले आमालाई र दाजुले बहिनीलाई ससूराले बुहारीलाई, देवरले भाउजूलाई ,जेठाजुले बुहारीलाई बलात्कार गर्ने गरेका घटनाका समाचारहरु दिनहुँ जसो आइरहेका हुन्छन् ।
हाम्रो पुरुष प्रधान समाजमा महिलालाई छोरीमात्र जन्माएकै कारण पति, सासू, ससुरा र नन्द मिलेर चरम मानसिक र शारीरिक यातना दिई हत्या गरेका घटनाहरु पनि सुन्नमा आउँछन् ।
यतिमात्रै नभई हाम्रो समाजमा दाइजो प्रथाको नाममा महिलामाथि चरम यातना दिने र जिउँदै जलाउने कार्य अझैपनि रोकिएको छैन । विशेषगरि यस्ता घटनाहरु तराइ मधेसका समुदायमा घट्ने गर्छन् ।
आजको यो २१ औं शताब्दीमा पनि रुढिवादी परम्परा र अन्धविश्वाससँग जोडेर बोक्सीको नाउँमा कुटपिट गरी हत्या गर्ने तथा मलमूत्र खुवाउने कार्य पनि रोकिएको छैन ।
दिनहुँ जसो यस्ता घटना घटिरहँदा पनि महिला अधिकारकर्मी र सरोकारवाला सरकारी निकायहरु तारे होटलमा गरिने गोष्ठीमा मात्र सिमित भए कार्यन्वयनमा भने शुन्यता भयो । जसले गर्दा अपराधीहरुको मनोबल बढेको देखिन्छ ।
सरकारले अपराध सम्बन्धित यस्ता पाशविक क्रियाकलापलाई रोक्न नखोज्दा अपराधीलाई खुलेआम प्रोत्साहन मिलेको छ । यस्ता अपराधीहरुलाई कारवाही गर्न कडाभन्दा कडा कानुनको आवश्यकता छ ।
हाम्रो देशमा कडा कानुनको अभावले यस्ता घटनाहरु पटक पटक दोहोरिने गर्छन् । पैसा र पहुँचको भरमा केही अपराधीहरुले छुटकारा पाएका छन् । जसले गर्दा नागरिकहरुले देशमा न्याय मोरेको अनुभुति गर्ने गरेका छन् ।
प्रतिक्रिया