Pura Samachar

हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ ? प्रधानमन्त्री हचुवाको भरमा बोल्छन्!

प्रकाशित: June 11, 2020

हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ ? प्रधानमन्त्री हचुवाको भरमा बोल्छन्!

गगन थापा प्रश्न गर्छन्, ‘हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ?’

यो जिज्ञासा ठट्यौलीका लागि गरिएको थिएन, पक्कैपनि । तर, प्रधानमन्त्रीको कुर्सीमा आसिन केपी शर्मा ओलीले मजाकको शैलीमा कुटिल जवाफ दिए, ‘भर्खरै सुन्नुभयो नि, मैले भनेको ।’

कोरोनाबाट मृत्यु दर नबढेको र संक्रमण उच्च नभएको दावी गर्दै प्रधानमन्त्री ओलीले संसदमा यसो भनेका थिए, ‘सरकारले उपचार प्रवन्ध राम्रो गरेकाले र नेपालीहरुको रोग प्रतिरोधी क्षमता पनि उच्च भएकाले मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा कम छ ।’

नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । संक्रमितको कुल संख्या ४ हजार ३ सय बढी छ । यसमध्ये ६ सय ७४ जना निको भएका छन् । यही अंकगणितलाई आफ्नो सफलताको मानक मान्दै ओलीले दावी गरेका थिए, ‘निधन भएका १५ जना पनि अरु कारणले सिकिस्त भएका, बाँच्ने स्थिति नभएकोमा संक्रमण सरेको हो ।’ घुमाइफिराई उनी भनिरहेका थिए, ‘सरकारले उपचारको राम्रो प्रबन्ध गरेको छ । यसमा नेपालीको रोगसँग लड्ने क्षमता बलियो हुनु पनि साहयक कारण हो ।’

के प्रधानमन्त्री ओलीले निर्धक्क एवं प्रष्ट भाषामा भने झै ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च छ ? यही कारण नेपालमा कोरोना भाइरसको संक्रमण अन्य देशको तुलनामा कम छ ?’

प्रधानमन्त्रीलाई पत्याउने हो भने नेपालीहरु दिनहुँ औषधिय गुणका खानेकुरा सेवन गरिहेका छन् । हिमालमा स्पर्श गरेर वहने स्वच्छ हावामा सास फेरिरहेका छन् । उकाली–ओराली गरिहेका छन् । यो झारको रुपमा यर्चागुम्बा उम्रने भूगोल हो । ढुंगाबाट सिलाजित निस्कने देश हो । त्यसैले नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता उच्च छ ।

यहाँ आइपुगेपछि सरल ढंगले केही कुरा बुझ्न आवश्यक छ ।

१. रोग प्रतिरोधात्मक क्षमता भनेको ?

२. रोग प्रतिरोधात्मक क्षमता बढी वा कम कसरी हुन्छ ?

३. नेपालको हावापानी, खानपान र जीवनशैलीको कारण रोग प्रतिरोधात्मक क्षमता उच्च हुनसक्छ ?

४. के नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमतालाई लिएर कुनै खोज–अध्ययन भएको छ ?

रोग प्रतिरोधात्मक क्षमता

हाम्रो शरीरभित्र एउटा यस्तो प्रणाली चलयमान हुन्छ, जो कुनैपनि किसिमको रोग÷संक्रमणबाट शरीरलाई बचाइराख्छ । । यसको काम भनेको शरीरमा कुनैपनि रोगे हावी हुन नदिई सुरक्षा प्रदान गर्ने हो ।

यसले शरीरलाई वाहय संक्रमणबाट बचाउने काम गर्छ । साथै शरीरभित्र लागेको रोग विरुद्ध लड्ने कम पनि गर्छ ।

यो प्रणाली दुई किसिमको हुने बताइन्छ, एक जन्मजात, दुई परिवर्तनशील ।

हामी जन्मदाँ नै हाम्रो शरीरभित्र यस किसिमको प्रणाली विकास भइसकेको हुन्छ । हामी हुर्कने, बढ्ने क्रममा बाह्य वातावरण, खानपान, जीवनशैलीले अरु रोगहरुको संक्रमण थपिदै जान्छ । यसरी थपिने रोग एवं संक्रमणबाट शरीरलाई सुरक्षा प्रदान गर्न परिवर्तनशील प्रणाली सक्रिय हुन्छ । प्रतिरक्षा प्रणाली कति बलियो छ भन्ने कुराले नै हाम्रो शरीरको रोगसँग लड्ने क्षमतामा निर्भर गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढी वा कम कसरी हुन्छ ?

सबै मान्छेको प्रतिरक्षा क्षमता एकनास हुँदैन । मान्छेको वंश, जात, लिंग आदि अनुसार प्रतिरक्षा क्षमता केही भिन्नता हुन्छ । यसमा उनीहरुको खानपान, हावापानी, भूगोल, जीवनशैलीले पनि प्रभाव पार्छ । कुन हावापानीमा हुर्किएको, कस्तो खानपान गर्छ भन्ने कुराले पनि प्रतिरक्षा क्षमतामा असर गर्छ । यसर्थ कुनै व्यक्तिमा प्रतिरक्षा क्षमता बलियो हुन्छ भने कसैको कमजोर ।

नेपालको हावापानी, खानपान, जीवनशैली र रोग प्रतिरोधात्मक क्षमता

‘तपोभूमी’ ‘ऋषिमुनीहरुको भूमी’ भनिएपनि हामीकहाँ योग परम्परा, सात्विक जीवनशैली, आयुर्वेदको व्यापक र व्यवहारिक प्रयोग भएको छैन । हामीकहाँ हिमालको स्वच्छ हावा त छ, तर त्यो हावामा नेपालीले सास फेर्न पाएका छैनन् । किनभने सबैतिर प्रदूषण छ । काठमाडौं त विश्वकै त्यस्तो शहरहरुमा गणना हुन्छ, जहाँको हावा सास फेर्न लायक छैन । लकडाउनअघिसम्मको अवस्था हेर्ने हो भने काठमाडौंको वायुमा त्यस्ता सुक्ष्म कणहरु मिसिएको धुलो र धुवाँ छ जो क्यान्सरको कारक बन्छ ।

नेपालीको रोग प्रतिरोधात्मक क्षमतालाई लिएर कुनै शोध भएको छ ?

नेपालीको रोग प्रतिरोधात्मक क्षमतालाई लिएर अहिलेसम्म कुनै खोज÷अध्ययन भएको पाइदैन । यद्यपि हिलोमाटोमा खेल्ने, खेतीकिसानी गर्ने, प्रकृतिमा रमाउनेहरुको प्रतिरक्षा प्रणाली बलियो हुन्छ भन्ने मान्यतालाई आधार मान्ने हो भने ग्रामिण भेगमा बसोबास गर्नेहरुको प्रतिरक्षा क्षमता तुलनात्मक रुपमा राम्रो हुनसक्छ । तर, यसो भन्नका लागि हामीसँग ठोस आधार भने छैन ।

प्रधानमन्त्री हचुवाको भरमा बोल्छन् ?

प्रधानमन्त्री ओलीले ढुक्कसँग भनेका छन् ‘नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्नेमा चुनौती कुनै चिकित्सक, शोधकर्ता, वैज्ञानिकबाट आयोभने स्वीकार गरौंला ।’ आफुसँग बलियो आधार, अध्ययन, तथ्य–तथ्यांक नभई प्रधानमन्त्री ओलीले हचुवाकै भरमा यस्तो दाबी गरेका छन् । के उनले कोरोनाको सन्त्रासमा रहेका सर्वसाधरणालाई सान्तवना दिन वा मनोवल बढाउनका लागि यसो भनेका हुन् वा सर्वसाधरणको सेन्टिमेन्ट जिन्न ? यी दुबै अनुमान खारेज गर्ने हो भने उनी या त आफै भ्रममा छन् वा झुट बोल्न माहिर ।

प्रतिक्रिया