Pura Samachar

‘राष्ट्रपति महोदय , तपाईलाई कार्पेट फेर्न मन छ, हामीलाई राष्ट्रपति’

प्रकाशित: June 11, 2020

‘राष्ट्रपति महोदय , तपाईलाई कार्पेट फेर्न मन छ, हामीलाई राष्ट्रपति’

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासको नाकैमुनि सयौं युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

बालुवाटारको भाटभटेनी चौकदेखि सडकको दुवैतर्फ लहरै बसेका युवाहरुले हात–हातमा प्लेकार्ड बोकेर सरकार चलाउनेहरुको भ्रष्ट प्रवृतिविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुको प्रदर्शन शान्तिपूर्ण भए पनि प्रहरीले भीड तितरबितर पार्ने नाममा आज पनि पानीको फोहोरा र टियर ग्याँस प्रहार गरेको छ ।

स्वस्फूर्त रुपमा केही दिनअघिदेखि सडकमा उत्रिएका युवाहरुले प्रदर्शनलाई जारी राखेका छन् । हिजो उनीहरुले ग्वार्कोमा प्रदर्शन गरेका थिए । शनिवार बिहान माइतीघरमा प्रदर्शन गर्दैछन् ।

दैनिकजसो संघीय राजधानीका विभिन्न क्षेत्रमा भेला भई युवाहरुले सरकारको भ्रष्ट प्रवृति, कोरोना जाँच तथा नियन्त्रणमा भएको गम्भीर लापरबाही तथा घोटालाको विरुद्धमा प्रदर्शन गरिरहेका छन् ।

युवाहरुले प्लेकार्ड प्रदर्शन गर्दै मौन विरोध गरिरहँदा उनीहरुले लेखेका नाराहरुले सर्वसाधारणको समेत ध्यान तानिएको छ ।

बिहीबार बालुवाटारको सडकको दुर्वतर्फ उभिएर प्रदर्शन गरेकामध्ये एकजनाको प्लेकार्डमा लेखिएको थियो–‘भोकले गर्दा नि राजनीति लाशमा थियो, विचरा उ मुठीभर चामलको आशमा थियो ।’

यस्तै, ‘पुस्तकमा कर किन बढाएको र चकलेटमा किन घटाएको’ भन्दै युवाहरुले सरकारका अर्थमन्त्रीले प्रश्न सोधेका छन् ।

‘जनताले तिरको कर तिमीहरुको मोजमस्तीका लागि होइन’, ‘जनताको स्वास्थ्य ठूलो कि राष्ट्रपतिको कार्पेट ?’, ‘म मेरो देशलाई माया गर्छु, तर सरकारसँग लज्जित छु’ जस्ता नाराहरु अंकित प्लेकार्ड युवाहरुले बोकेका थिए ।

यसैगरी, प्रदर्शनकारीहरुले ‘काम छैन बुहारी’ लेखेको ब्यानर समेत प्रदर्शन गरेका छन् । उनीहरुको विरोध प्रचण्ड बुहारी बिना मगरप्रति लक्षित देखिएको छ ।

केही प्रदर्शनकारीले बोकेको प्लेकार्डमा लेखिएको थियो–‘राष्ट्रपति तपाईलाई कार्पेट फेर्ने मन छ, हामीलाई राष्ट्रपति फेर्ने मन छ ।’

कतिपयले ‘असक्षमता हात धोएर निको हुन्न’, ‘१० अर्ब खोई ?’ ‘लाज लाग्दैन ?’, ‘स्यानिटाइज दि गभरमेन्ट’ जस्ता नारा अंकित प्लेकार्ड समेत बोकेका थिए ।

प्रतिक्रिया